‘कोपा अमेरिकाका स्टार’ मार्टिनेजका लागि बार्सिलोनाको बम्पर अफर !

एजेन्सी, असार १५
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाका युवा फरवार्ड लौटारो मार्टिनेज उच्च लयमा छन् । आफ्नो टिम अर्जेन्टिनालाई प्रतियोगिताको सेमिफाइनलसम्म लैजानेक्रममा उनले महत्त्वपूर्ण प्रदर्शन गरिरहेका छन् । कतिपयले उनलाई कोपामा ‘मेस्सीको काम गरिरहेका खेलाडी’ भनेर तारिफ गरिरहेका छन् ।

कोपामा अर्जेन्टिनाले सेमिफाइलनसम्म पुग्दा समूह चरणमा तीन र क्वार्टरफाइनलमा एक गरी चार खेल खेलेको छ । सोक्रममा मार्टिनेजले ३ खेल खेलेका छन् । प्रायः सुरुआती टिममा रहेर खेलिरहेका उनले आफूलाई साबितसमेत गर्दै आइरहेका छन् । उनले टिमका लागि आवश्यक परेका बेला गोल दिएर आफू सुरुआती टिममा किन परिरहेको छु भने जवाफ दिइरहेका छन् ।

२१ वर्षीय मार्टिनेजले कोपामा ३ खेलबाट २ गोल आफ्नो नाममा लेखाइसकेका छन् । पछिल्लोपटक क्वार्टरफाइनलमा भेनेज्वेलालाई २–० ले हराउँदा उनले एक दर्शनीय ब्याक हिल गोल गरेका थिए, जुन ओपनिङ गोल थियो । सो गोलपछि उनको चर्चा र तारिफ बढिरहेको छ । धेरैले उनलाई अर्जेन्टिनाका नयाँ स्टार गोलकर्ता भनेर प्रशंसा गरिरहेका छन् ।

अर्जेन्टिनी टोलीमा कप्तान लिओनल मेस्सीले लगातार कमजोर प्रदर्शन गरिरहेका बेला मार्टिनेजले उच्च प्रदर्शन गरिरहँदा स्पेनिस क्लब बार्सिलोनाले उनलाई भित्र्याउन सकिने सम्भावनातर्फ ध्यान बढाएको छ । अर्जेन्टिनी मिडियाका अनुसार बार्सिलोनाले राष्ट्रिय टिमको आक्रमण लाइनमा मेस्सीसँग मिलेर खेलिरहेका मार्टिनेज बार्सिलोनामा पनि मेस्सीका लागि राम्रा पार्टनर हुने ठानेको छ ।

स्पेनिस मिडियाले पनि पछिल्ला दुई दिनका बीचमा मार्टिनेज स्पेन सर्न सक्ने सम्भावनाबारे चर्चा गर्न थालेका छन् । बार्सिलोना निकट मानिने पत्रिका ‘मुन्डो डेपोर्टिभो’ ले बार्सिलोनाले अर्जेन्टिनी युवा फरवार्डप्रति गम्भीर रूपमा चासो बढाएको जनाएको छ । युवा खेलाडी भएकाले पनि उनी बार्सिलोनाका लागि दीर्घकालीन गोलकर्ता खेलाडी हुनसक्ने क्लबको बुझाइ रहेको उल्लेख छ ।

हाल इटालियन क्लब इन्टर मिलानबाट फरवार्ड पोजिसनबाट खेलिरहेका मार्टिनेजलाई बार्सिलोनाले सरुवा बजारमा निकै महँगो बोल लगाउने सम्भावना छ । तर, त्यसका लागि पहिला बार्सिलोना भित्र्याउने चर्चामा रहेका फ्रेन्च फरवार्ड एन्टोनी ग्रीम्यान र पूर्वखेलाडी नेइमार फर्काउने विषय टुंगो लगाउन बार्सिलोना प्रयास गरिरहेको छ ।

यो बताइएको छ कि, यदि बार्सिलोनाले नेइमार र ग्रीजम्यान दुवै खेलाडी भित्र्याउन नसके त्यो बेला उसले मार्टिनेजलाई पहिलो प्राथमिकतामा राख्नेछ । यदि पूर्वखेलाडी नेइमारलाई कम मूल्यमा फर्काउन नसक्ने अवस्था देखिए त्यो बेला बार्सिलोना कम मूल्यका मार्टिनेजतर्फ लाग्ने सम्भावना छ । त्यो बेला बार्सिलोनाको सूचीमा ग्रीजम्यान र मार्टिनेज हुनेछन् ।

लिओनल मेस्सीलाई समेत मार्टिनेजसँग खेल्न सजिलो हुने तथा खेल शैलीसमेत मिल्ने भएकाले बार्सिलोनाले नेइमारका लागि महँगो बेजट खर्चनुभन्दा मार्टिनेज उचित हुने विकल्पतर्फ लाग्ने सम्भावना बलियो छ । अर्जेन्टिनी मिडिया ‘रेडियो ला रेड’का अनुसार बार्सिलोनाले नेइमार अनुबन्ध सम्भव नभए मार्टिनेजका लागि कम्तीमा १११ मिलिन युरोसम्म खर्चिने सम्भावना छ । यो मिलानले मार्टिनेजका लागि राखेको रिलिज क्लजको मूल्य हो ।

सिजन २०१८/१९ मा मार्टिनेजले मिलानका लागि सबैखाले प्रतियोगिता गरी कूल ३५ खेलबाट ९ गोल गर्दै ४ गोलका लागि असिस्ट गरेका थिए । मिलानसँग मार्टिनेजले सन् २०२३ सम्म सम्झौता गरेका छन् । मिलानले उनलाई सन् २०१८ मा ५ वर्षका लागि सम्झौता गरेको थियो । मिलानले उनको रिलिज क्लज १११ मिलियन युरो कायम गरेको छ । मिलानले उनलाई अर्जेन्टिनी क्लब रासिङ क्लबबाट मात्रै २२ मिलियन युरोमा अनुबन्ध गरेको थियो ।

प्रकाशित मिति १५ असार २०७६, आईतवार १५:४१
Loading...