मेस्सीमाथि डि मारियाको यस्तो शानदार टिप्पणी

एजेन्सी, असार १६
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाका कप्तानसमेत रहेका सुपरस्टार लिओनल मेस्सी आफ्नो ओर्जिनल भर्सनमा छैनन् । अर्जेन्टिना चार खेल खेल्दै प्रतियोगिताको सेमिफाइनलसम्म पुग्दा मेस्सीले मात्रै १ गोल गरेका छन्, त्यो पनि समूह चरणमा पेनाल्टीबाट । यस प्रतियोगितामा समग्रमा उनको प्रदर्शन ज्यादै सामान्य मात्रै छ । जसका कारण उनको आलोचना भइरहेको छ ।

तर, उनका सहकर्मी विंगर एन्जल डि मारिया भने सो कुरा स्वीकार्दैनन् । उनले मेस्सी आफ्नो उत्कृष्ट लयमा नरहे पनि उनले टोलीलाई अघि बढाउन महत्त्वपूर्ण योगदान दिँदै आएको बताएका छन् । उनले मेस्सीको आलोचनाको खण्डन गर्दै आफ्ना सहकर्मीको बचाउ गरेका छन् । डि मारियाले मेस्सीले गोल नै नगरे पनि अन्य भूमिकाबाट टिमलाई ठूलो योगदान पुगिरहेको बताए ।

‘यस प्रतियोगितामा धेरैले मेस्सीबाट थुप्रै गोलको अपेक्षा गरिरहेका छन् । तर, हामी भने त्यो सोच्दैनौं । टिम जसरी भए पनि अघि बढिरहेको छ,’ डि मारियाले भने, ‘मेरो विचारमा लियोले धेरै राम्रो गरिरहेका छन् । गोल गर्न नसक्दा उनले दबाब महसुस गरिरहेका छन् । तर, उनले टिमलाई सघाइरहेका छन् । हामी खुसी छौं ।’

मैदानमा सधैं गोल गर्नुभन्दा पनि मेहनत गर्नु र दौडिरहनु ठूलो कुरा हुने मेस्सीले बुझेको डि मारिया बताउँछन् । डि मारियाले थपे, ‘उनी मैदानमा दौडिरहेका छन् र मेहनत गरिरहेका छन् । उनलाई थाहा छ कि, म मैदानमा खट्दा वा दौडिँदा मात्रै पनि विपक्षी टिममाथि दबाब हुन्छ र आफ्नो टिममाथिको दबाब कम हुन्छ । यो कुरा पनि महत्त्वपूर्ण हो ।’

अब अर्जेन्टिनाले जुलाई ३ तारिखमा सेमिफाइनलमा आयोजक टोली ब्राजिलसँग उसकै भूमिमा खेल्दैछ । प्रतियोगिताका दुई प्रमुख तथा स्टार खेलाडीले भरिएका टिम सेमिमा भिड्ने भएपछि सो खेल प्रतियोगिताकै सबैभन्दा आकर्षक खेल हुनेमा दुईमत छैन । त्यसमा पनि प्रमुख उपाधि दाबेदार टिमहरू फाइनल पुग्न भिड्ने भएकाले यो खेल धेरैका लागि प्रतीक्षाको खेल हुने नै भयो । अर्को सेमिफाइनल खेलमा साबिक विजेता चिली र पेरु अर्को दिन खेल्नेछन् ।

प्रकाशित मिति १५ असार २०७६, आईतवार १३:५५
Loading...