माने भित्र्याउन लिभरपुललाई रियलको ‘बम्पर अफर’ !

एजेन्सी, असार १५
जारी समर सिजन सकिन अझै दुई साता बाँकी छ । यो समय स्पेनिस रियल मड्रिडका लागि अझै भव्य हुने सम्भावना छ । किनभने, उसले आफ्ना दर्जन खेलाडी बेच्ने तयारी छ भने केही प्रमुख खेलाडी भित्र्याउने सम्भावना पनि जीवितै छ । रियलले यसअघि नै लुका जोभिक, इडेन हाजार्ड, फोर्लान मेन्डीलगायत स्टार खेलाडी अनुबन्ध गरिसकेको छ ।

आगामी सिजन सबैखाले उपाधि जित्ने लक्ष्यसहित टोलीमा स्टार र भरपर्दा खेलाडी भित्र्याइरहेको रियलले इंग्लिस क्लब लिभरपुलका स्टार फरवार्ड साडियो माने भित्र्याउन सक्रियता बढाएको छ । कोच जिनेदिन जिदानको योजनामा रियल सेनेगलका द्रुत गतिका यी खेलाडीलाई बेर्नाबेउ उतार्न आतुर देखिन्छ । यसका लागि रियलले लिभरपुलसँग विशेष अफर गर्ने तयारी गरेको छ ।

रियल मड्रिड निकट मानिने स्पेनिस पत्रिका ‘मार्सा’का अनुसार रियलले २७ वर्षीय विंगर भित्र्याउन आफ्नो टोलीका युवा खेलाडी मार्को एसेन्सियोसहित आकर्षक बजेट अफर गर्ने तयारी गरेको छ । आगामी सिजन रियलमा जिदानको योजनामा पर्ने सम्भावना न्यून रहेका एसेन्सियोलाई रियलले एक प्रमुख खेलाडी भित्र्याउने डिलमा मिसाउन चाहेको छ । लिभरपुलले आकर्षक रकमसहित एसेन्सियो लिएर माने दिन तयार हुने बुझाइसहित रियलले लिभरपुलसँग ‘बम्पर अफर’ गर्न लागेको हो ।

खबरअनुसार रियलले माने भित्र्याउन एसेन्सियो दिएर ५० मिलियन युरोसम्म रकम थप्ने गरी प्रस्ताव गर्न लागेको छ । सो प्रस्तावमा लिभरपुल तयार हुने रियलले अपेक्षा लिएको छ । माने विशेष गरी जिदानको रोजाइमा परेका खेलाडी हुन् । सरुवा बजार सुरु भएदेखि नै जिदानको प्रयासमा मानेले रियलको सेतो जर्सी लगाउने सम्भावना रहेको चर्चा चल्दै आएको थियो ।

सिजन २०१८÷१९ मा लिभरभपुलमा मानेले सबैखाले प्रतियोगिताबाट कूल ४९ खेल खेल्दै २६ गोल गरेका थिए भने १ गोलका लागि असिस्ट गरेका थिए । यता, एसेन्सियोले भने रियलका लागि सिजनभरमा कूल ४२ खेल खेल्दै ६ गोल गर्दै १० गोलका लागि असिस्ट गरेका थिए ।

प्रकाशित मिति १५ असार २०७६, आईतवार १२:१९
Loading...