‘पीडामा डुबेका’ स्वारेजलाई नेइमारको मायालु सन्देश

एजेन्सी, असार १५
आफूले पेनाल्टी मिस गरेसँगै उरूग्वे कोपा अमेरिका फुटबलको अन्तिमआठबाटै आउट भएपछि विक्षिप्त बनेका फरवार्ड लुइस स्वारेजलाई पूर्वसहकर्मी नेइमारले सन्देश पठाएका छन् । विगतमा बार्सिलोनामा सँगै खेलेका नेइमारले पीडामा डुबेका स्वारेजलाई सान्त्वना सन्देश पठाएका हुन् ।

कोपामा गत राति भएको क्वार्टरफाइनल खेलमा उरूग्वे पेनाल्टी सुटआउटमा पेरुसँग ५–४ ले हारेको थियो । टोलीका लागि सुरुआती पेनाल्टी हानेका स्वारेजले सुरुमै पेनाल्टी चुकाएपछि अन्ततः पेरुले ५–४ ले नतिजा आफ्नो पक्षमा लिँदै उरूग्वेलाई घरको बाटो देखायो । र, आफूले सेमिफाइनलमा चिलीसँगको भेट पक्का गर्न सफल भयो ।

आफ्नो पेनाल्टीका कारण टिम उपाधि होडबाट आउट भएपछि स्वारेज मैदानमै रोए । आँसु थाम्न नसकेका उनलाई मैदानमा सहकर्मीलाई सम्हाल्न भ्याईनभ्याई थियो । जबकि, उरूग्वेलाई यसपटक प्रतियोगितामा उपाधि दाबेदार टिम मानिएको थियो । तर, स्वारेजको पेनाल्टी मिसले उरूग्वेको उपाधि सपनामा पानी पोखिदियो ।

आफ्नो देशमा जारी प्रतियोगितामा आफ्ना पूर्वसहकर्मी तथा नजिकका साथी हारका कारण पीडामा पीडामा रहेका स्वारेजलाई नेइमारले सामाजिक सन्जालबाट सन्देश लेख्दै सम्हालिन अनुरोध गरेका छन् । उनले स्वारेजको तारिफ गर्दै आफूले उनलाई माया गर्ने पनि उल्लेख गरेका छन् । नेइमारले स्वारेजलाई सन्देशमा लेखेका छन् –

‘यतिबेला आफैंले आफूलाई उठाऊ । तिमी महान् छौ, दाजु । म तिमीलाई माया गर्छु मेरो साथी ।’

नेइमार भने यतिबेला ब्राजिलको टोलीबाहिर छन् । उनी ब्राजिलको टोलीमा कोपा खेल्न सहभागी भए पनि प्रतियोगिता सुरु हुनुअघि कतारसँग मैत्रीपूर्ण खेल खेल्नेक्रममा घाइते भएपछि टोलीबाहिर भएका थिए । तर, उनी अहिले आफ्नो टिमको मनोबल बढाउन हरेक खेलका दिन रंगशाला पुगेर टिम र खेलाडीलाई हौसला दिइरहेका छन् ।

प्रकाशित मिति १५ असार २०७६, आईतवार ११:५६
Loading...