उपाधिका लागि आज स्पेन र जर्मनीको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, असार १५
युरोपियन प्रतियोगिता युरो कप यु–२१ मा आज उपाधि भिडन्त हुँदैछ । उपाधिका लागि युरोपका सदाबहार टिम स्पेन र जर्मनीको रोमाञ्चक भिडन्त हुन लागेको हो । इटालीमा जारी प्रतियोगिताको फाइनल खेल नेपाली समयअनुसार आज राति ठीक १२ः३० बजेबाट सुरु हुँदैछ । यसअघि सेमिफाइनलमा जर्मनीले रोमानियालाई ४–२ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यसैगरी, स्पेनले फ्रान्समाथि ४–१ को फराकिलो जित निकाल्दै फाइनलमा जर्मनीसँगको उपाधि भेट तय गरेको थियो । दुवै टिम उत्तिकै बलिया भएको र यो उपाधिको छिनोफानो हुने खेल भएकाले खेल हेर्नलायक हुनेछ ।

यो प्रतियोगिता सर्वाधिक धेर इटालीले कूल ५ पटक जितेको छ । त्यसपछि स्पेनले ४ पटक जितेको छ । आज स्पेन जर्मनीलाई हराएर इटालीसँगको सर्वाधिक धेरै उपाधि संख्यासँग बराबरी गर्ने दाउमा छ । यो प्रतियोगिता जर्मनीले भने जम्मा २ पटक मात्रै जितेको छ । यसपटक इटाली भने समूह चरणबाटै आउट भएको थियो । उसलाई यसपटक पनि प्रमुख उपाधि दाबेदार मानिए पनि उसले आफूलाई नकआउट चरणसम्म लैजान सकेन ।

यस प्रतियोगिताको अघिल्लो संस्करण सन् २०१७ मा जर्मनीले जितेको थियो । त्यसबेला जर्मनीले स्पेनलाई नै १–० ले हराएर उपाधि जितेको थियो । तसर्थ यसपटक स्पेन जर्मनीसँग २ वर्षअघि फाइनलमा भोगेको हारको बदला लिँदै उपाधि आफ्नो नाममा लेखाउने दाउमा छ । यो प्रतियोगिता स्पेनले अन्तिम पटक सन् २०१३ मा जितेयता दुई संस्करण जित्न सकेन । हरेक २–२ वर्षमा हुने यो प्रतियोगिता यसपटक जितेर स्पेन जितको बाटोमा फर्किने योजनामा छ ।

प्रकाशित मिति १५ असार २०७६, आईतवार १०:३३
Loading...