महिला विश्वकप : जर्मनीलाई हराउँदै स्वीडेन सेमिफाइनलमा

काठमाडौं, असार १५
उपाधि दाबेदार टिम जर्मनीलाई हराउँदै स्वीडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गत रति भएको खेलमा स्वीडेनले जर्मनीलाई २–१ ले स्तब्ध बनाउँदै उपाधि होडमा एक कदम अघि बढाएको हो । स्वीडेनले खेलमा पछि परेको स्थितिमा पुनरागमन गरेर जित निकाल्यो ।

सुरुबाटै आफूले पकड जमाएको खेलमा जर्मनीका लागि खेलको १६औं मिनेटमा लिना मागुल्लले सुरुआती गोल गरिन् । उनले ड्याब्रिटिजको पासमा गोल गरेकी थिइन् । जर्मनीले खेलमा चाँडै अग्रता लिए पनि त्यो अग्रता उसले धेरैबेर जोगाउन सकेन । खेलको २२औं मिनेटमा स्वीडेनका लागि सोफिया जाकोबसुनले गोल गर्दै खेल १–१ बनाइन् । उनले सेम्ब्रान्टको असिस्टमा गोल गरेकी थिइन् ।

पहिलो हाफमा १–१ मा टुंगिएको खेलमा दोस्रो हाफको सुरमै स्वीडेनले अग्रता लियो । उसका लागि खेल सुरु भएको ३ मिनेटपछि नै ४८औं मिनेटमा स्टिनाले गोल गर्दै जर्मनीलाई २–१ ले पछि पारिन् । त्यसपछि बाँकी समयमा जर्मनीले खेलमा फर्किन लगातार प्रयास गरे पनि सकेन । र, स्वीडेनले सोही अग्रता जोगएर खेल २–१ ले जित्यो ।

यससँगै प्रतियोगिताको सेमिफाइनलको समीकरण पनि पूरा भएको छ । अब स्वीडेनले फाइनल पुग्न सेमिमा नेदरल्याड्सको सामना गर्नेछ । नेदरल्यान्ड्स गत राति नै इटालीलाई २–० ले हराएर फाइनल पुगेको हो । अर्को सेमिफाइनल खेलमा इंग्ल्यान्ड र अमेरिका भिड्नेछन् । क्वार्टरमा इंग्ल्यान्डले नर्वेलाई ३–० तथा अमेरिकाले आयोजक फ्रान्सलाई २–१ ले हराएर सेमिमा स्थान बनाएका थिए ।

प्रकाशित मिति १५ असार २०७६, आईतवार ०२:५९
Loading...