एजेन्सी, असार १४
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा सामान्य प्रदर्शन गरिरहेका आफ्ना स्टार खेलाडी लिओनल मेस्सीको प्रशिक्षक लियोनल स्कालोनीले बचाउ गरेका छन् । कमजोर प्रदर्शनका कारण मेस्सीको आलोचना बढिरहेका बेला स्कालोनीले जारी प्रतियोगितामा कप्तान मेस्सीले सोचेअनुरूप प्रदर्शन गर्न नसके पनि टोलीका लागि मेस्सीले महत्त्वपूर्ण योगदान दिइरहेको बताएका हुन् ।
जारी प्रतियोगितामा अर्जेन्टिना कठिन अवस्थाबाट सेमिफाइनलसम्म पुगेको छ । तर, मेस्सीले समूह चरणमा पराग्वेविरुद्ध १ पेनाल्टी गोलबाहेक थप गोल गर्न सकेका छैनन् । जसका कारण महत्त्वपूर्ण प्रतियोगितामा मेस्सी नचल्दा उनको टिममाथि दबाब बढेको छ भने मेस्सी स्वयंको पनि आलोचना बढ्दो छ । तर, प्रशिक्षक भने यो मान्न तयार छैनन् । मेस्सीले गोल गर्न नसके पनि टिमको जितमा उनले पर्याप्त भूमिका खेलको उनको भनाइ छ ।
‘मेरो विचारमा मेस्सी के हुन् र को हुन् भन्ने कुरा सबैले बुझेका छन् । मैले पनि बुझेको छु । उनले मैदानमा मात्रै नभएर ड्रेसिङ रुममा पनि टिमलाई मिलाउन भूमिका खेलिरहेका हुन्छन्,’ प्रशिक्षक स्कालोनीले भने, ‘उनले गोल गरे पनि नगरे पनि मेस्सी भनेका मेस्सी नै हुन् । हामीसँग विश्वकै उत्कृष्ट खेलाडी खेलिरहेका छन् । हामीलाई उनको आवश्यकता छ ।’
स्कालोनीले मेस्सी गोल मेसिन खेलाडी भएकाले केही खेलमा गोल नहुँदा स्वभावैले उनीमाथि दबाब बढ्ने बताए । तर, मेस्सीजस्ता खेलाडी लामो समयसम्म गोलविहीन हुन नसक्ने उनको भनाइ छ । ‘मेस्सी विश्वकै नम्बर वान गोल मेसिन खेलाडी हुन् । यही भएर पनि उनले एक÷दुई खेलमा गोल गर्न नसक्दा उनीमाथि प्रश्न उठ्छ, यो सामान्य हो,’ स्कालोनीले भने, ‘तर, उनीजस्ता खेलाडी लामो समयसम्म गोल नगरी बस्न सक्दैनन् ।’
कोपाको सेमिफाइनलमा अब अर्जेन्टिनाले आयोजक टोली ब्राजिलसँग फाइनल प्रवेशका लागि भिडन्त गर्नेछ । यो खेललाई प्रतियोगिताकै फाइनलसरह मानिएको छ । किनभने, दुई ठूला टिम फाइनलअगावै खेल्दैछन् । ‘यो खेल निकै कठिन हुनेछ, दुवै टिममा लागि । तर, हामी ब्राजिलसँग खेल्न तयार छौं,’ स्कालोनीले भने, ‘मलाई आशा छ, यस खेलमा मेरा खेलाडीले थप राम्रो गर्नेछन् ।’
प्रकाशित मिति १४ असार २०७६, शनिबार १५:५६