महिला विश्वकप : इटालीलाई हराउँदै नेदरल्यान्ड्स सेमिफाइनलमा

काठमाडौं, असार १४
नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । आज भएको क्वार्टरफाइनल खेलमा डच टिमले बलियो टिम इटालीमाथि २–० को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाइको हो । नेदरल्यान्ड्सलाई जिताउनेक्रममा २ जना फरक–फरक खेलाडीले १–१ गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा भएका थिए भने दुवै गोल फ्रि किकमा हेडिङबाट भएका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । तुलनात्मक रूपमा नेदरल्यान्ड्स सुरुबाटै हाबी भएको खेलमा उसले खेल अवधिभरमा दुई दर्जनभन्दा बढी पोस्ट आक्रमण गरेको थियो । पहिलो हाफमा नेदरल्यान्ड्सले पटक–पटक गोलका लागि मुभ बनाए पनि उसलाई इटालीको रक्षापंक्ति तोड्न हम्मे परेको थियो ।

तर, दोस्रो हाफमा नेदरल्यान्ड्सले थप आक्रामक खेल खेल्दै २ गोल हान्यो । उसका लागि खेलको ७०औं मिनेटमा भिभान्ने मेइडेमाले दर्शनीय हेडिङ गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएकी थिइन् । उनले स्पाईट्सको फ्रि किक प्रहारमा आकर्षक हेडिङ गोल गरेकी थिइन् । उनको प्रहार इटालियन गोलरक्षकको हातमा लाग्दै छिरेको थियो ।

त्यसपछि खेलको ८०औं मिनेटमा नेदरल्यान्ड्सले दोस्रो गोल थप्यो । सो गोल स्टेफाइन भान डर ग्राग्टले गरेकी थिइन् । उनले पनि हेडिङबाटै गोल गरेकी थिइन् । उनको गोलमा पनि स्पाईट्सले नै फ्रि किक प्रहार गरेकी थिइन् । अग्ली कदकी स्टेफाइनले इटालियन डिफेन्डरलाई जिल्ल्याउँदै दर्शनीय तरिकाले गोल गरेकी ििथइन् । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल नभएपछि खेल नेदरल्यान्ड्सले २–० ले जित्यो ।

यससँगै नेदरल्यान्ड्स सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको छ । अब अन्तिम सेमिफाइनल खेलमा जर्मनी र स्वीडेन आजै राति खेल्दैछन् । नेदरल्यान्ड्सले सेमिमा जर्मनी र स्वीडेनबीचको खेलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । अर्को सेमिफाइनल खेलमा अमेरिका र इंग्ल्यान्डको भेट पक्का भइसकेको छ ।

प्रकाशित मिति १४ असार २०७६, शनिबार १५:०५
Loading...