नेइमार दिन पिएसजीले राख्यो दुई ‘महँगा’ सर्त

एजेन्सी, असार १४
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्ना सुपरस्टार खेलाडी नेइमारलाई स्पेनिस बार्सिलोना फिर्ता पठाउन नयाँ सर्त राखेको छ । फ्रेन्च मिडियाका अनुसार पिएसजीले यदि बार्सिलोना नेइमार भित्र्याउन चाहन्छ भने उसले कम्तीमा १३० मिलियन युरो रकमसहित २ जना खेलाडी दिनुपर्ने सर्त राखेको हो । आफ्ना सर्त पूरा हुने अवस्थामा मात्रै पिएसजी यसै समरमा नेइमारलाई पेरिसबाट बिदा गर्न पक्षमा देखिएको छ । अन्यथा, उसले विश्वकै सर्वाधिक महँगा खेलाडीलाई सजिलै स्पेन फर्किन दिने सम्भावना देखिँदैन ।

पिएसजीले नेइमारलाई स्न २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा भित्र्याएको थियो । पछिल्लो समय क्लबमा बेखुसी देखिएका नेइमारले क्लब छाड्ने मनस्थिति बनाएपछि पिएसजीले पनि नेइमारका लागि मूल्य तोकेको हो । नेइमार पिएसजीमा ठूला सफलता पाउन नसकेपछि निराश छन् । उनी बार्सिलोना फर्किन तयार छन् । पछिल्लो समय क्लबका अध्यक्ष नासिर अल खिलाफी र नेइमारको सम्बन्धमा खटपट पैदा भएपछि नेइमार फ्रान्समा करिअरलाई निरन्तरता दिने पक्षमा छैनन् ।

बार्सिलोनाले भने नेइमारका लागि कम्तीमा २०० मिलियन युरोभन्दा बढी रकम खर्च गर्न नचाहेको खबर आइरहेका बेला पिएसजीले भने निकै महँगो सर्त राखेको छ । खबरअनुसार पिएसजीले नेइमार किन्दाको सम्पूर्ण रकम बार्सिलोनाबाट नाफासहित असुल्न चाहेको छ । त्यसका लागि उसले बार्सिलोनाका दुई खेलाडीसहित कम्तीमा १३०–१५० मिलियन युरो रकम माग गरेको छ । पिएसजीले नेइमार दिन बार्सिलोनासँग राखेका दुई सर्त :

  • १३० मिलियन युरो + फिलिपे कोउटिन्हो + अन्य एक खेलाडी
  • १५० मिलियन + उसामान डेम्बेले + अन्य एक खेलाडी

यी सर्तअनुसार पिएसजीले २७ वर्षीय नेइमार बार्सिलोनालाई बेच्न कम्तीमा ३०० मिलियन देखि ३५० मिलियन युरोसम्म मूल्यांकन खोजेको देखिन्छ । जबकि, बार्सिलोनाका लागि यो निकै ठूलो बजार भाउ हुनेछ । किनभने, बार्सिलोना हालको अवस्थामा नेइमारलाई कम्तीमा २०० मिलियन वा बढीमा बिक्री मूल्यभन्दा बढी खर्चिने पक्षमा देखिँदैन । यसर्थ, पिएसजीको महँगो सर्तले बार्सिलोनाका लागि नेइमार फर्काउने विषय थप पेचिलो बन्ने देखिएको छ ।

प्रकाशित मिति १४ असार २०७६, शनिबार १२:५४
Loading...