कोपा अमेरिका : अन्तिम क्वार्टरफाइनल खेलमा उरूग्वे र पेरु भिड्दै

काठमाडौं, असार १४
ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राति अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ । सो खेलमा उरुग्वे र पेरु भिड्दैछन् । यो खेल सकिएपछि सेमिफाइनल पुग्ने ४ वटै टिमको टुंगो लाग्नेछ । खेल नेपाली समयअनुसार (आइतबार बिहान) १२ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि समूह चरणमा पेरु समूह ‘ए’बाट उत्कृष्ट दुईमा रहँदै क्वार्टरफाइनल प्रवेश गरेको थियो । उरुग्वे समूह ‘सी’बाट समूह विजेता बनेर क्वार्टरफाइनल प्रवेश गरेको थियो । तुलनात्मक रूपमा उरुग्वे बलियो टिम रहे पनि पेरुले यस खेलमा उसलाई कडा टक्कर दिनसक्ने अनुमान गरिएको छ ।

यसअघि सेमिफाइनल पुग्ने ३ टिमको टुंगो लागिसकेको छ । आयोजक ब्राजिल, अर्जेन्टिना र चिली सेमिफाइनल पुगिसकेका छन् । जसमा एक खेलमा ब्राजिल र अर्जेन्टिना खेल्नेछन् भने अर्को खेलमा साबिक विजेता चिलीसँग आज राति हुने उरुग्वे र पेरुबीचको विजता टिमले खेल्नेछ ।

आजको खेलमा उरुग्वे पहिलो रोजाइका खेलाडी लिएर मैदान उत्रिनेछ । उरुग्वेलाई प्रतियोगितामा प्रमुख उपाधि दाबेदारमध्येको एक टिम मानिएको छ । उसको टोलीमा स्टार फरवार्ड लुइस स्वारेज, इडिसन काभानीलगायत खेलाडीको साथ हुनेछ । रक्षापंक्तिमा डिएगो गोडिनलगायत अनुभवी खेलाडी हुनेछन् ।

प्रकाशित मिति १४ असार २०७६, शनिबार ०५:२९
Loading...