आयोजकसँग रिसाए मेस्सी– ‘यस्तो मैदानमा कोपा अमेरिका खेल्नु लाजमर्दो’

एजेन्सी, असार १४
हाल ब्राजिलमा ४६औं संस्करणको कोपा अमेरिका फुटबल चलिरहेको छ । प्रतियोगितामा अब क्वार्टरफाइनलको चौथो खेल हुन बाँकी छ । त्यसपछि सेमिफाइनल र फाइनल खेल । गत राति दोस्रो सेमिफाइनल खेलमा अर्जेन्टिना र भेनेज्वेला खेलेकोमा अर्जेन्टिनाले २–० को जित निकाल्यो । सो खेलपछि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले खेल मैदान खराब भएको भन्दै आलोचना गरेका छन् । गत रातिको खेल माराकानास्थित इस्टाडियो जोर्नालिस्टा मारियो फिल्हो रंगशालामा भएको थियो । सो मैदान खेल्न ठीकठाक थिएन । खराब घाँसले मैदानलाई असहज बनाएको थियो । खेल दौरान पनि यो प्रष्ट अनुभूत हुन्थ्यो । बल नउफ्रिने, नचल्ने समस्याले खेलाडी खेल दौरान पनि तनावमा देखिन्थे ।

खेल सकिएपछि मिडियासँग बोल्दै अर्जेन्टिनी कप्तान मेस्सीले कोपाजस्तो ठूलो प्रतियोगितामा तल्लोस्तरको खेल मैदान हुनु ज्यादै लज्जास्पद रहेको बताए । उनले खेल दौरान ‘बल खरायोजस्तो देखिएको’ भन्दै मैदानलाई ठीकठाक राख्न नसकेकोमा आयोजकप्रति खनिए । ‘यो एकदमै सत्य हो, यी मैदान साँच्चै लाजमर्दा छन् । खेलाडीले बल नियन्त्रणमा लिन सक्दैन र बल लिएर दौडिन सक्दैन । बल घाँसमै अल्झिन्छ,’ मेस्सीले भने, ‘कोपा अमेरिकाजस्तो प्रतियोगितामा यस्तो मैदान हुनु साँच्चै लज्जास्पद छ ।’

मेस्सीले अघि थपे, ‘मैदानमा बल खरायोजस्तो देखिन्छ । मैदानकै कारण हामीलाई बल नियन्त्रणमा लिन कठिन भयो । अरूलाई पनि यस्तो भयो होला । फुटबलमा मैदानको अवस्था ज्यादै महत्त्वपूर्ण हुन्छ । तर, यहाँ व्यवस्थापन एकदमै खराब रह्यो । तैपनि, हामीले आफ्नो प्रयासले खेल्यौं । र, जित्न सक्यौं ।’

यसअघि अर्जेन्टिनाका कप्तान लिओनल स्कालोनीले पनि पहिलो खेलमा कोलम्बियासँग २–० ले हारेपछि मैदान खराब भएको भन्दै आलोचना गरेका थिए । खेलपछि उनले ‘आफूहरू खराब मैदानका कारण हारेको’ भन्दै रिसाएका थिए । त्यत्ति मात्रै हैन, ब्राजिलकै प्रशिक्षक टिटेले समेत मैदान व्यवस्थापनमा चरम लापरबाही गरेको भन्दै असन्तुष्टि जनाएका थिए । उनले यस्ता ठूला प्रतियोगिताका खेल हुने मैदान हरेक तवरले ठीक हुपर्ने औंल्याएका थिए । ब्राजिलियन मिडियाले पनि कोपाका खेल हुने मैदानहरूको कमजोर पक्षबारे खबर प्रकाशित गर्दै आइरहेका छन् ।

प्रकाशित मिति १४ असार २०७६, शनिबार ०४:३२
Loading...