कोपा अमेरिका : भेनेज्वेलालाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा !

काठमाडौं, असार १४
लिओनल मेस्सीको टिम अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार शनिबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा उसले चीर प्रतिद्वन्द्वी भेनेज्वेलामाथि २–० को सहज जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।

यससँगै अर्जेन्टिनाले सेमिफाइनलमा प्रतियोगिताको आयोजक तथा प्रमुख उपाधि दाबेदार टिम ब्राजिलसँगको भेट पक्का गरेको छ । अब फाइनल पुग्न ब्राजिल र अर्जेन्टिनाले एकले अर्कोलाई पन्छाउनुपर्ने हुन्छ छ । यो खेललाई प्रतियोगिताको ‘फाइनल’ खेलका रूपमा हेरिएको छ ।

भेनेज्वेलाविरुद्ध एन्जल डि मारिया र पाउलो डिबालालाई बेन्चमा राखेर मैदान उत्रिएको अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उसका लागि खेल सुरु भएको १० मिनेटमै लौटारो मार्टिनेजले आकर्षक गोल गरेर अग्रता दिलाएका थिए । उनले बक्सभित्र सर्जियो अगुएरोले दिएको छोटो पासमा उत्कृष्ट ब्याक हिल प्रहार गर्दै बललाई जाली चुमाएका थिए । उनको ब्याक हिलमा भेनेज्वेलाका डिफेन्डर र गोलरक्षकले कुनै भेउ नै पाएनन् ।

त्यसपछि दोस्रो हाफमा अर्जेन्टिनाले खेललाई थप आक्रामक बनाए पनि उसले दोस्रो गोलका लागि ७४औं मिनेटसम्म संघर्ष गर्नुपरेको थियो । अगुएरोले बक्स भित्रबाट हानेको प्रहार भेनेज्वेलाका गोलरक्षकको हातबाट चिप्लिएपछि नजिकै रहेका जियोभानी लो सेल्सोले सहजै गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–० को सहज अग्रता दिलाए । त्यसअघि खेलको ६९औं मिनेटमा भेनेज्वेलाको एक कडा प्रहार अर्जेन्टिनी गोलरक्षक अर्मानीले बचाएका थिए ।

खेलमा २–० ले पछि परेको भेनेज्वेलाले त्यसपछि गोल गर्न सकेन । र, खेल अर्जेन्टिनाले २–० ले जित्यो । यस खेलमा अर्जेन्टिनाका कप्तान मेस्सीको प्रदर्शन औसत मात्रै रह्यो । उनी आफ्नो पुरानो लयमा नदेखिँदा अन्य खेलाडीले निकै दबाब महसुस गरेका थिए ।

अब पहिलो सेमिफाइनल खेल आगामी जुलाई ३ तारिखमा हुनेछ । सो खेलमा हुने दक्षिण अमेरिकी क्षेत्रका पावर हाउस ब्राजिल र अर्जेन्टिनाको रोमाञ्चक भिडन्त हेर्नलायक हुनेछ ।

प्रकाशित मिति १३ असार २०७६, शुक्रबार २०:५६
Loading...