‘अन्तर्राष्ट्रिय उपाधि जित्न मेस्सीलाई यो अन्तिम अवसर’

एजेन्सी, असार १३
अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीको टिम अहिले ब्राजिलमा कोपा अमेरिका खेलिरहेको छ । उसलाई प्रमुख उपाधि दाबेदारमध्येको एक टिम मानिएको छ । ऊ अहिले क्वार्टरफाइनलमा छ । र, उसले आजै राति सेमिफाइनलमा जान भेनेज्वेलासँग प्रतिस्पर्धा गर्दैछ । सो खेलको नतिजापछि अर्जेन्टिना अघि बढ्नेछ कि आउट हुनेछ । मेस्सी यसपटक जसरी पनि आफ्नो कप्तानीमा देशलाई आफ्नो करिअरको पहिलो र ठूलो उपाधि जिताउने दौडमा छन् । यसअघि सन् २०१४ मा विश्वकप र २०१६ मा कोपाकै फाइनलमा उनकै कप्तानीमा टिम हारेपछि चर्को आलोचना खेपेका मेस्सी यसपटक हारको कथा टुंगाउन चाहन्छन् ।

यसैबीच, अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोनीले मेस्सीका लागि आफ्नो नेतृत्वमा देशलाई उपाधि जिताउने यो नै अन्तिम मौका हुनसक्ने बताएका छन् । उनले मेस्सीको बढ्दो उमेरका कारण उनले फेरि देशका लागि ठूला प्रतियोगिता खेल्ने सम्भावना कमै रहेको बताए । ‘मेस्सीले भर्खरै ३२औं जन्मदिन मनाए । उनको उमेर उनलाई थाहा छ । उनले कति उमेरसम्म मैदानमा खेल्न सक्छन् भन्ने पनि उनलाई थाहा छ,’ सिमोनीले भने, ‘मलाई लाग्छ, उनका लागि देशलाई उपाधि जिताउने यो अन्तिम मौका हुनसक्छ ।’

सिमोनीले कोपापछि मेस्सीले देशका लागि ठूला प्रतियोगिता खेल्न सन् २०२२ को विश्वकपसम्म पर्खिनुपर्ने र त्यो धेरै टाढाको कुरा भएको बताए । ‘२०२२ को विश्वकपसम्म पुग्दा उनी ३५ वर्षका हुनेछन् । र, यो एक फरवार्डका लागि सही समय होइन,’ सिमोनीले भने ।

सिमोनीले यसपटक अर्जेन्टिनाले उपाधि जितोस् भन्ने आफ्नो ठूलो चाहना रहेको बताए । ‘मेस्सीजस्ता विश्वस्तरका खेलाडीले सबैखाले प्रतियोगिता जित्नुपर्छ । देशका लागि उपाधि जित्नु त अझै आवश्यक हुन्छ,’ सिमोनीले भने, ‘यसपालि मेस्सीले देशका नाममा उपाधि जितून् भन्ने मेरो इच्छा छ ।’

प्रकाशित मिति १३ असार २०७६, शुक्रबार १२:००
Loading...