कोपाको च्याम्पियन बन्ने यो समय हाम्रो हो : जेसस

एजेन्सी, असार १३
आफ्नो भूमिमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेपछि ब्राजिलका स्टार फरवार्ड ग्याब्रिएल जेससले आफूहरू उपाधि जित्ने दिशामा अघि बढेको बताएका छन् । आज बिहान भएको क्वार्टरफाइनल खेलमा ब्राजिलले पराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै सेमिमा स्थान बनाएको थियो ।

ब्राजिललाई पेनाल्टीमा जिताउन जेससले नै निर्णायक पेनाल्टी प्रहार गरेका थिए । खेलपछि मिडियालाई प्रतिक्रिया दिँदै उनले आफूहरू ९० मिनेटअघि नै जितको हकदार रहेको बताए पनि खेल पेनाल्टीसम्म पुगेको बताए ।

‘मेरो विचारमा टिमका हिसाबले हामीले राम्रो खेल्यौं । ९० मिनेटभित्रै हामीले नतिजा निकाल्नुपर्ने थियो । तर, भएन । फुटबलमा यस्तो हुन्छ,’ जेससले भने, ‘जति नै बलियो र कमजोर टिम भए पनि पेनाल्टीमा जहिल्यै पनि सम्भावना ५०–५० हुन्छ । आज हामी भाग्यमानी भयौं,’ जेससले भने ।

जेससले उपाधि जित्न बाँकी दुई खेलमा आफूहरूले उच्च प्रदर्शन गर्न प्रयास गर्ने बताए । ‘अबका खेल अझै कठिन हुनेछन् । तर, हामी टिमका लागि सबथोक दिन तयार छौं,’ जेससले भने, ‘उपाधि जित्ने यो समय हाम्रा लागि हो ।’

जेससले सेमिफाइनलमा अर्जेन्टिना वा भेनेज्वेला जो आए पनि आफूहरूलाई फरक नपर्ने बताए । ‘सेमिफाइनलमा को आउन सक्छ भन्ने हाम्रो अनुमान छ । जो आए पनि हामी तयार छौं,’ उनले भने ।

दोस्रो क्वार्टरफाइनल खेलमा लिओनल मेस्सीको टिम अर्जेन्टिना र भेनेज्वेला खेल्दैछन् । सो खेलको विजेता टिमसँग ब्राजिलले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति १३ असार २०७६, शुक्रबार ०४:५६
Loading...