कोपा अमेरिका : पेनाल्टीमा ब्राजिल भाग्यमानी, पराग्वेलाई हराउँदै सेमिफाइनलमा !

काठमाडौं, असार १३
ब्राजिल आफ्नो भूमिमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । आज बिहान भएको क्वार्टरफाइनल खेलमा पाहुना टोली पराग्वेलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै आयोजक टोली सेमिफाइनल पुगेको हो ।

९० मिनेट र इन्जुरी ७ मिनेटको समयमा पनि खेल ०–० मा सकिएपछि खेललाई थप ३० मिनेटमा नलगी सोझै पेनाल्टीमा लगिएको थियो । जसमा ब्राजिलले पराग्वेलाई ४–३ ले निराश बनायो ।

त्यसअघि खेलको पहिलो हाफ र दोस्रो हाफमा तुलनात्मक रूपमा ब्राजिलले बढी आक्रमण गरे पनि पराग्वेका गोलरक्षकले उत्कृष्ट बचाउ गर्दा ब्राजिललाई खेल जित्न पेनाल्टीसम्म संघर्ष गर्नु परेको थियो ।

ब्राजिलका पटक–पटक आक्रमण पराग्वेका गोलरक्षकले विफल पारिदिएका थिए । दोस्रो हाफको अन्तिम समयमा ब्राजिलले दुई राम्रा प्रहार गरे पनि एक प्रहार पोलमा लागेर फर्कियो भने एक प्रहारमा गोलरक्षकले आकर्षक ढंगले बचाउ गरेका थिए ।

त्यसअघि खेलको ५८औं मिनेटमा पराग्वे १० खेलाडीमा सीमित भएको थियो । आफ्नो बक्सबाहिर ब्राजिलका फरवार्ड रोवर्ट फर्मिन्होलाई गम्भीर फउल गरेपछि रेफ्रीले भिएरआबाट फाबिएनलाई सोझै रातो कार्ड दिएर मैदानबाट पठाएपछि पराग्वे बाँकी समय १० खेलाडीमा खेलेको थियो ।

९० मिनेटपछि खेललाई सोझै पेनाल्टीमा लगिएको थियो । जसमा ब्राजिलका गोलकिपर एलिसन बेकरले एक पेनाल्टी बचाए भने ब्राजिलको एक पेनाल्टी बाहिर गयो । पराग्वेले दुई पेनाल्टी गुमायो ।

पहिला पेनाल्टी लिएको पराग्वेका गुस्ताभो गोमेजको प्रहार एलिसनले रोकिदिएका थिए । त्यसपछि ब्राजिलका विलियनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि पराग्वेका लागि मिगुएल अल्मिरोनले दोस्रो प्रहारमा गोल गरे भने ब्राजिलका मार्किन्होसले पनि गोल गरेर २–१ बनाए ।

त्यसपछि पराग्वेका ब्रुनो भाल्डेज र ब्राजिलका फिलिपे कोउटिन्हो दुवैले गोल गरेपछि खेल ३–२ भयो । त्यसपछि पराग्वेका लागि जाउन रोड्रिगो रोजासले गोल गरेर खेल ३–३ बनाए ।

तर, त्यसपछि ब्राजिलका रोवर्ट फर्मिन्होको प्रहार बाहिर गएपछि पराग्वेलाई राहत मिलेको थियो । तर, लगत्तै पराग्वेका डेर्लिस गोन्जालेज हानेको प्रहार पनि बाहिर गएपछि ब्राजिललाई पुनः राहत मिलेको थियो ।

त्यसपछि विजयी पेनाल्टी हान्न आएका ब्राजिलका ग्याब्रिएल जेससले गोल गरेपछि खेल ब्राजिलले ४–३ ले जित्यो ।

अब ब्राजिलले सेमिफाइनलमा दोस्रो क्वार्टफाइनल खेल अर्जेन्टिना र भेनेज्वेलाबीचको विजेतासँग भिडन्त गर्नेछ ।

प्रकाशित मिति १३ असार २०७६, शुक्रबार ०२:४५
Loading...