महिला विश्वकप फुटबल : इंग्ल्यान्ड सेमिफाइनल प्रवेश

काठमाडौं, असार १३
इंग्ल्यान्ड लगातार दोस्रोपटक महिला विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गत राति भएको क्वार्टरफाइनल खेलमा उसले नर्वेलाई ३–० ले पन्छाउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

हाभ्रेमा भएको पहिलो क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डलाई जिताउन जिल स्कट, एलेन ह्वाइट र लुसी ब्रन्जले समान १–१ गोल गरे । खेलमा सुरुबाटै दबाबमा राखेको इंग्ल्यान्डका लागि खेलको तेस्रो मिनेटमै स्कटले गोल गरेर अग्रता दिलाएकी थिइन् ।

त्यसपछि खेलको ४०औं मिनेटमा एलेन ह्वाईटले गोल गर्दै पहिलो हाफमा इंग्ल्यान्डलाई २–० को सहज अग्रता दिलाइन् । त्यसपछि दोस्रो हाफमा पनि इंग्ल्यान्डले गोल थप्यो । खेलको ५७औं मिनेटमा ब्रन्जले गोल गरेर टिमलाई ३–० को अग्रता दिलाइन् । त्यसपछि पनि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।

तर, ८३औं मिनेटमा पाएको पेनाल्टीमा निकिता पेरिसको प्रहार नर्वेकी गोलकिपरले रोकेपछि इंग्ल्यान्ड ३–० ले विजयी भयो । यससँगै इंग्ल्यान्डले अब फाइनल पुग्न सेमिफाइनलमा फ्रान्स र अमेरिकाबीचको विजयी टोलको सामना गर्नेछ ।

प्रकाशित मिति १३ असार २०७६, शुक्रबार ०२:०६
Loading...