‘दोस्रो क्रिस्टियानो रोनाल्डो’ अर्थात् जोआओ फेलिक्स !

एजेन्सी, असार १२
यदि यतिबेला कुनै युवा खेलाडी सरुवा बजारमा कोही चर्चामा छन् भने उनी पोर्चुगलका १९ वर्षीय फरवार्ड जोआओ फेलिक्स हुन् ! पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग तुलना गरिएका उनी स्पेनको क्लब एथलेटिको मड्रिड जाने करिब पक्का भएको छ !

यतिबेला रोनाल्डोलाई आफ्नो आदर्श मान्ने फेलिक्सको तुलना अहिले राष्ट्रिय टिममा सहकर्मी बर्नान्डो सिल्भासँग पनि गरिन्छ । कतिपयले त उनलाई ब्राजिलका काकासँग पनि तुलना गर्ने गरेका छन् ।

हाल पोर्चुगिज क्लब बेनफिकासँग सम्झौतामा रहेका उनको सरुवाबारे उनको क्लब र एथ्लेटिकोबीच छलफल चलिरहेको छ । स्टार युवा फरवार्डका लागि एथलेटिकोले १२६ मिलियन युरोको बोल लगाएको छ । यदि यो मूल्यको अफर बेनफिकाले स्वीकारे फेलिक्स पाँचौं महँगा खेलाडी बन्नेछन् । उनी ब्राजिलियन नेमार, ब्राजिलकै फिलिपे कोउटिन्हो, फ्रेन्च केलियन एमबाप्पे र फ्रान्सकै उसामान डेम्बेलेपछिका महँगा खेलाडी बन्नेछन् ।

को हुन् फेलिक्स ?

केही समयअघि मात्रै युइएफए नेसन्स लिगको खेल दौरान पोर्चुगलको राष्ट्रिय टिममा डेब्यु गरेका फेलिक्सले सन् २०१८ को सिजनको सुरुबाट व्यावसायिक खेल जीवन सुरु गरेका थिए । उनले सिनियर टिमबाट पहिलो सिजन बेनफिकाबाट खेले । जहाँ उनले पहिलो सिजन नै लिगमा १५ गोल गरे भने ९ असिस्ट गरेर आफ्नो प्रभाव छाडेका थिए । सो सिजन उनको क्लबले घरेलु लिग जितेको थियो ।

त्यसपछि बेनफिकाको जर्सीमा फेलिक्सले युरोपियन प्रतियोगितामा पनि गतिलो प्रभाव पारे । जर्मन क्लब फ्रान्कफुर्टविरुद्धको खेलमा उनले सनसनीपूर्ण ह्याट्रिक गरेर धेरैको नजरमा परेका थिए । उनी युरोपियन फुबलमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छा फुटबलर बनेका थिए !

बेनफिकाबाट लगातार उच्च प्रदर्शन गरेपछि उनलाई पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले केही समयअघि भएको युइएफए नेसन्स लिगको सेमिफाइनलमा स्वीट्जरल्यानडविरुद्धको खेलमा सुरुआती टोेलीमै डेब्यु गराएका थिए ।

बेनफिकामा अनुबन्ध हुनुअघि फेलिक्स पोर्चुगलकै क्लब पोर्टोको एकेडेमीमा थिए । उनलाई क्बलले सन् २०१५ मा ‘बढी दुब्लो भएको’ भन्दै बेनफिकालाई बेचेको थियो ।

त्यसपछि फेलिक्स सन् २०१६ मा १६ वर्षको उमेरमा बेनफिकाको रिजर्भ टिममा रहे । २०१६ को सेप्टेम्बरमा उनले रिजर्भ टिममा डेब्यु गर्दै सबैभन्दा युवा खेलाडी बनेका थिए ।

फेलिक्सले सिजन २०१८/१९ मा क्लबसँग सम्झौता लम्ब्याए । उनलाई क्लबले राम्रो तलब दिएर रिलिज क्लज १२० मिलियन युरो कायम गरेको थियो । त्यसताका उनले बेनफिकासँग सन् २०२३ सम्मका लागि सम्झौता गरे ।

उनले गत अगस्टमा बेन्फिकाका लागि बोएभिस्टाविरुद्धको खेलमा डेब्यू गरे । उनले पहिलो सिजन सिनियर टोलीका लागि सिजनभर सबैखाले खेलबाट ४३ खेल खेल्दै २० गोल आफ्नो नाममा लेखाएका थिए ।

फेलिक्सको नाममा केही गजबका रेकर्ड छन् । उनी इंग्ल्यान्ड, इटाली, स्पेन, जर्मनी, पोर्चुगल र नेदरल्यान्डस्को लिगमध्ये सर्वाधिक गोल गर्ने दोस्रो कम उमेरका खेलाडी हुन् । उनीभन्दा अघि जर्मन क्लब वायर लिभरकुजेनका १९ वर्षीय मिडफिल्डर काई हाभेर्टको नाममा सो रेकर्ड छ ।

प्रकाशित मिति १२ असार २०७६, बिहीबार १४:४६
Loading...