‘नेइमार बार्सिलोना फर्किन चाहन्छन् भने उनले पहिला माफी माग्नुपर्छ’

एजेन्सी, असार १२
स्पेनिस क्लब बार्सिलोनाले आफ्ना पूर्वस्टार खेलाडी ब्राजिलियन नेइमार फर्काउन प्रयास गरिरहेको छ । २ वर्षअघि विश्वकीर्तिमानी २२२ मिलियन युरोमा फ्रेन्च क्लब पिएसजी पुगेका नेइमार पनि स्पेन फर्किन इच्छुक छन् ।

तर, बार्सिलोना फर्किन नेइमारलाई सजिलो बाटो भने छैन । दुई क्लबबीचको आर्थिक मुद्दा निकै पेचिलो बन्ने देखिन्छ भने नेइमार नैतिक रूपमा पनि दबाबमा छन् । किनभने, २ वर्षअघि उनी बार्सिलोनाका फ्यानहरूको मन दुखाउँदै पेरिस उडेका थिए ।

त्यसबेला बार्सिलोनाका फ्यानहरूले उनको पुत्ला र तस्बिरसमेत जलाउन भ्याएका थिए । उनीहरूले ‘नेइमारले पैसाका लागि आफूहरूलाई धोका दिएको’ भन्दै चर्को आलोचना गरेका थिए । पछि नेइमारले आफूले पाउने पैसा नपाएको भन्दै बार्सिलोनाविरुद्ध मुद्दा नै हालेपछि उनीसँग बार्सिलोनाका फ्यान झन् रिसाएका थिए ।

यस्तो अवस्थाबाट बार्सिलोना छाडेका र फ्यानहरूको चित्त दुखाएका नेइमारलाई स्पेन फर्किन भावनात्मक रूपमा केही कठिन देखिन्छ । यो कुरा नेइमारले पनि राम्रोसँग बुझेका छन् ।

यसैक्रममा बार्सिलोना तथा ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले यदि नेइमार बार्सिलोना फर्किन चाहन्छन् भने उनले पहिला माफी माग्नुपर्ने बताएका छन् । उनले नेइमारले पहिला फ्यानहरुसँग माफी मागेर बार्सिलोनाको जहाज चढे उचित हुने बताए ।

‘यदि नेइमार साँच्चै नै बार्सिलोना फर्किन चाहन्छन् भने उनले पहिला विगतमा गरेको गल्ती स्वीकार्दै फ्यानहरूसँग माफी माग्नुपर्छ,’ रिभाल्डोले भने, ‘बार्सिलोनाका फ्यानहरू उनीसँग रिसाएका छन् उनलाई राम्रोसँग थाहा छ ।’

रिभाल्डोले नेइमारले उत्कृष्ट फुटबल खेल्न आफू हाँसीखुसी पुनः बार्सिलोना फर्किन चाहेको कुरा सार्वजनिक रूपमै व्यक्त गर्नुपर्ने बताए । ‘यदि उनले आफू उत्कृष्ट फुटबल खेल्न बार्सिलोना फर्किन चाहेको कुरा फ्यानहरूलाई भन्न सके भने सबै सामान्य हुन्छ । फ्यानहरूले उनको पुनरागमनको स्वागत गर्नेछन् ।’

रिभाल्डोले यदि नेइमार आत्मसन्तुष्टि र खुसीका लागि बार्सिलोना फर्किन चाहेका हुन् भने तलब र पैसाको मामिलामा सम्झौता गर्नुपर्ने बताए । ‘यदि उनी क्याम्प नोउमा फुटबलको खुसी खोज्न फर्किएका हुन् भने उनी तलबको अंकको कुरामा अल्झिनु गलत हो,’ रिभाल्डोले भने ।

प्रकाशित मिति १२ असार २०७६, बिहीबार १४:५७
Loading...