नेइमार दिन पिएसजीले बार्सिलोनासँग राख्यो यस्तो सर्त !

एजेन्सी, असार १२
स्पेनिस बार्सिलोनाले आफ्ना पूर्वस्टार ब्राजिलियन नेइमार फर्काउने प्रस्ताव नकारेको भोलिपल्ट फ्रेन्च क्लब पिएसजीले बार्सिलोनासँग नयाँ सर्त राखेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार यदि बार्सिलोना नेइमार फर्काउन चाहन्छ भने उसका दुई खेलाडी आफूले पाउनुपर्ने सर्त राखेको छ ।

जसमा ब्राजिलियन स्टार मिडफिल्डर फिलिपे कोउन्टिहो र फ्रेन्च विंगर उसामान डेम्बेले रहेका छन् । यी दुवै खेलाडी बार्सिलोनाको इतिहासकै सर्वाधिक महँगा खरिद खेलाडी हुन् ।

बार्सिलोनाले डेम्बेलेलाई सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०५ मिलियन युरोमा भित्र्याएको थियो भने कोउटिन्होलाई अघिल्लो जनवरीमा इंग्लिस क्लब लिभरपुलबाट १६० मिलियन युरोमा अनुबन्ध गरेको थियो ।

बार्सिलोनाले पिएसजीलाई नेइमार सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बेचेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा महँगो सरुवा मूल्य हो ।

हाल पिएसजीले बार्सिलोनासँग राखेको सर्तअनुसार उसले नेइमारको मूल्य कम्तीमा २६५ मिलियन तोकेको छ । बार्सिलोनाले कोउटिन्हो र डेम्बेलेका लागि खर्चिएको रकम कूल २६५ मिलियन युरो हो ।

यो हिसाबले हेर्दा पिएसजीले नेइमारका लागि आफूले खरिद गरेको भन्दा ४३ मिलियन युरो बढी मूल्य निर्धारण गरेको छ । फ्रेन्च मिडिया ‘टेलिफुट’ले पनि बार्सिलोनाबाट कोउटिन्हो र डेम्बेले पाए पिएसजी नेइमारलाई छाड्न तयार रहेको रिपोर्ट छापेको छ ।

प्रकाशित मिति १२ असार २०७६, बिहीबार ०९:३६
Loading...