सिल्भाद्वारा म्यानचेस्टर सिटी छाड्ने घोषणा

एजेन्सी, असार १२
इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार खेलाडी डेभिड सिल्भाले क्लब छाड्ने घोषणा गरेका छन् । उनले अघिल्लो दिन एक अन्तर्वार्तामा बोल्दै २०१९/२० को सिजनपछि आफूले सिटी छाड्ने घोषणा गरेका हुन् ।

हाल ३३ वर्षीय पुगेका स्पेनिस खेलाडी सिल्भा सन् २०१० मा सिटीमा अनुबन्ध भएका थिए । त्यसयता उनले सिटीको जर्सीमा चारवटा प्रिमियर लिगसहित चारपटक लिग कप र दुईपटक एफए कपको उपाधिसमेत जितेका छन् ।

सिल्भाले सिटीका लागि हालसम्म ३९५ खेल खेलेका छन् । भर्खरै सकिएको सिजनमा उनले सिटीका लागि ३३ खेल खेल्दै ६ गोल गरेका थिए ।

‘१० वर्ष मेरो लागि पर्याप्त हो । क्लब छाड्ने यो नै उपयुक्त समय हो,’ अन्तर्वार्ताक्रममा सिल्भाले प्रष्ट पारे । उनले हालै मात्र सिटीसँग एक वर्षका लागि सम्झौता नवीकरण गरेका छन् ।

प्रकाशित मिति १२ असार २०७६, बिहीबार ०५:३४
Loading...