‘मेस्सीले आफूलाई प्रमाणित गर्न अन्तर्राष्ट्रिय उपाधि जित्नु जरुरी छैन’

एजेन्सी, असार १२
अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीले देशका लागि उपाधि जित्न नसकेको भनेर अक्सर आलोचना हुने गर्छ । पछिल्लो समय उनको आलोचना अझै बढ्दो छ । क्लब फुटबलमा सबैखाले सफलताको स्वाद चाखेका उनी अझै पनि अर्जेन्टिनाबाट उपाधि जित्न संघर्ष गरिरहेका छन् ।

तर, बार्सिलोना तथा ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले भने अब मेस्सीले आफूलाई अझै साबित गरिराख्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । हालै एक अन्तर्वार्तामा बोल्दै उनले मेस्सीले आफूलाई विश्वकै उत्कृष्ट खेलाडीका रूपमा साबित गरिसकेको बताए ।

‘मेरो विचारमा अब पनि मेस्सीले आफूलाई थप साबित गरिराख्नु जरुरी छैन । किनभने, उनी अहिले नै समकालीन फुटबलका सर्वोत्कृष्ट खेलाडी हुन्,’ रिभाल्डोले भने ।

रिभाल्डोले आफूलाई साबित गर्न मेस्सीले अन्तर्राष्ट्रिय उपाधि जितिराख्नु जरुरी नभएको पनि बताए । ‘मेस्सीले यहाँसम्म करिअरमा जे–जति गरेका छन्, यो नै पर्याप्त छ,’ रिभाल्डोले भने, ‘उनले म मेस्सी हुँ भनेर प्रमाणित गर्न विश्वकप जितिराख्नु आवश्यकता म देख्दिनँ । किनभने, सबै सफल खेलाडीले विश्वकप जितेका छैनन् ।’

रिभाल्डोले मेस्सीले ३४ वर्षसम्म खेल्न सक्ने पनि बताए । ‘मलाई लाग्छ, उनका लागि सन्यास लिने ३४ वर्षको उमेर सही हुनेछ ।’

प्रकाशित मिति १२ असार २०७६, बिहीबार ०३:४६
Loading...