पिएसजीद्वारा नेइमार फर्काउने बार्सिलोनाको प्रस्ताव अस्वीकार, कति माग्यो मूल्य ?

एजेन्सी, असार ११
पछिल्ला ताजा रिपोर्टअनुसार फ्रेन्च क्लब पिएसजीले स्पेनिस बार्सिलोनाले आफ्ना पूर्वखेलाडी नेइमार फर्काउन गरेको पहिलो प्रस्ताव ठाडै अस्वीकार गरेको छ ।

फ्रेन्च मिडिया ‘टेलिफुट’का अनुसार बार्सिलोनाले हालै मात्रै ब्राजिलियन नेइमारका लागि लिग वान च्याम्पियनसँग प्रस्ताव गरेको थियो । तर, पिएसजीले आफ्ना प्रमुख खेलाडीका लागि स्पेनको प्रस्ताव अस्वीकार गरेको खबरमा उल्लेख छ ।

अघिल्लो दिन एक ब्राजिलियन मिडियाले भने ‘नेइमार र बार्सिलोनाबचि ५ वर्षका लागि सम्झौता भएको’ खबर प्रकाशित गरेको थियो । यस्तै खबर स्पेनका मिडियाले छापेका थिए ।

तर, त्यस्तो सहमति क्लब बार्सिलोना र नेइमारबीच मात्रै भएको थियो । नेइमार बार्सिलोना फर्किन क्लब पिएसजी पनि सहमत हुनु आवश्यक हुन्छ ।

पिएसजीले नेइमारलाई सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा अनुबन्ध गरेको थियो । पेरिसमा दुई सिजन बिताएका नेइमारले ठूला सफलता पाउन नसकेपछि निराश भएर क्लब छाड्ने तयारी गरेका छन् ।

उनी अहिले व्यक्तिगत रूपमा पूर्वक्लब बार्सिलोना फर्किन तयार छन् । बार्सिलोना पनि नेइमार फर्काउन लागेको छ । तर, पिएसजीले नेइमारलाई बार्सिलोनाले चाहेजसरी सजिलै बिदा गर्ने पक्षमा देखिँदैन ।

पिएसजीले नेइमारलाई बेच्ने कुराको मुख्य कडी भनेको आर्थिक हो । उसले आफूले खरिद गरेभन्दा कम मूल्यमा नेइमार नबेच्ने प्रष्ट पारिसकेको छ । यसअघि पिएसजीका अध्यक्ष नासिर अल खिलाफीले पनि ‘स्पेनबाट उचित अफर आए नेइमार जान सक्छन्’ भनेर अभिव्यक्ति दिएका थिए ।

फ्रेन्च मिडियाका अनुसार पिएसजी नेइमारका लागि २५० मिलियनभन्दा कम मूल्यमा बेच्ने पक्षमा छैन । यसअघि फ्रान्सकै मिडियाले पिएसजीले नेइमारका लागि ३०० मिलियन युरो मूल्य तोकेको खबर प्रकाशित गरेको थियो ।

खबरअनुसार बार्सिलोनाले नेइमार फर्काउन एक खेलाडीसहित कूल मूल्यांकन २०० मिलियन युरो हुने गरी प्रस्ताव गरेको उल्लेख छ । उसले पिएसजीले चाहे आफ्नो टोलीका केही खेलाडीसमेत नेइमारको डिलमा राख्ने बताएको छ ।

प्रकाशित मिति ११ असार २०७६, बुधबार १५:०५
Loading...