मेस्सीमाथि पूर्वप्रशिक्षकका ६ ‘गम्भीर आरोप’ !

एजेन्सी, असार ११
स्पेनिस क्लब बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस भान गालले हाल टोलीका कप्तान रहेका लिओनल मेस्सीको आलोचना गरेका छन् । उनले मेस्सी ‘स्वार्थी’ खेलाडीका रूपमा अघि बढेकाले बार्सिलोना झन्–झन् ओरालो लागिरहेको आरोप लगाए ।

एक अन्तर्वार्तामा बोल्दै भान गालले बार्सिलोनाले चार वर्षसम्म युरोपियन उपाधि जित्न नसक्नुका पछाडि मेस्सी मुख्य दोषी रहेको बताए । क्लबले उनलाई ‘वान म्यान आर्मी’को भूमिका दिनु र मेस्सीले ठूला खेलमा नतिजा दिन नसक्नु बार्सिलोनाको असफलताको मुख्य कारण रहेको पनि उनले बताए ।

त्यसैगरी, भान गालले बार्सिलोनाको जित र सफलतामा मुख्य जस लिने मेस्सीले अहिले कप्तानमा रूपमा हार र खराब नतिजाको जवाफ दिन सक्नुपर्ने बताए । हाल क्लबमा नयाँ खेलाडी अनुबन्ध र भएका खेलाडी बेच्ने सबालमा पनि मेस्सी कुनै कुनै रूपमा बाधक रहेको उनले आरोप लगाए ।

सन् १९९७ देखि २००० सम्म र सन् २००२ देखि २००३ सम्म गरी दुई पटक बार्सिलोनाको प्रमुख प्रशिक्षक रहेका भान गालले ‘इएल पाइस’सँग कुरा गर्दै मेस्सीमाथि लगाएका ६ आरोप यस्ता छन् ।

मेस्सीको तारिफ !

‘म बार्सिलोनाको ड्रेसिङ रुममा छैन । र, तालिम क्याम्पमा पनि छैन । त्यसैले सबै कुरा निक्र्यौल गर्न सक्दिनँ । व्यक्तिगत रूपमा मलाई मेस्सी एकदम मन पर्छ, एकदमै । उनी व्यक्तिगत रूपमा विश्वका सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । किभने, उनीसँग निकै जादुयी तथ्यांक छ । मलाई उनी साँच्चै मन पर्छ ।’

आरोप–१

‘तर, उनले बार्सिलोनामा ४ वर्ष बित्दासमेत किन च्याम्पियन्स लिग जित्न सकेनन् ? एक कप्तानका रूपमा उनले आफैंलाई प्रश्न गर्नुपर्छ कि, टिम किन युरोपियन विजेता बन्ने सकिरहेको छैन ? जब कि बार्सिलोनासँग विश्वकै उत्कृष्ट टिम छ ।’

आरोप–२

‘मेरो विचारमा बार्सिलोनामा अहिले जे भइरहेको छ, त्यसको सबैभन्दा प्रमुख कारणमध्ये एक मेस्सी हुन् । प्रशिक्षक मात्रै होइन । किनभने, टिमले कस्तो नतिजा निकालिरहेको छ, त्यसको अधिकांश रूपमा टिम सहभागी हुन्छ । टिमले सोच्नुपर्छ ।’

आरोप–३

‘उनीहरूसँग ३० खेलाडीको सेट छ । र, मलाई लाग्छ कि, मेस्सीले आफूलाई पनि एक टिम खेलाडीका रूपमा स्वीकार्नुपर्छ । उनी टिमभन्दा ठूलो हुन सक्दैनन् । अहिले यस्तो देखिँदैन ।’

आरोप–४

‘पेप ग्वार्डिओलाले मेस्सीलाई यस्ता खेलाडी बनाइदिए कि, उनी जहाँबाट खेल्छन्, त्यो टिम र प्रशिक्षक शतप्रतिशत सुरक्षित हुन्छन् । तर, यो ठूलो भ्रम हो । मेस्सीहितको टिमले लगातार चार वर्ष च्याम्पियन्स लिगमा किन लज्जास्पद हार भोग्यो ? जब कि, त्यही अवधिमा रियल मड्रिडले ह्याट्रिक नै हान्यो । बार्सिलोनामा मेस्सीका नाममा जे भइरहेको छ, त्यो गलत छ । मुख्य कुरा सिंगो टिमको मनोबल र भावना हो ।’

आरोप–५

‘मेस्सीकै कारण बार्सिलोनाले आफ्नो योजनाअनुसार नयाँ खेलाडी अनुबन्ध गर्न सक्दैन । टिममा भएका खेलाडी बेच्न सक्दैन । यस्तो कुनै क्लबमा पनि हुँदैन । क्याम्प नोउमा यस्तै रहे बार्सिलोनाले अझै थुप्रै वर्ष च्याम्पियन्स लिग जित्न सक्दैन ।’

आरोप ६–

‘पछिल्ला नतिजा र तथ्यांक हेर्दा मेस्सी अक्सर साना टुर्नामेन्टमा उच्च लयमा देखिन्छन्, महत्त्वपूर्ण प्रतियोगितामा उनी चल्न सक्दैनन् । बार्सिलोनामा यसको विकल्प छैन । क्लबले मेस्सी नचल्दा उनीजस्तै गोलकर्ता खेलाडी किन आवश्यक ठान्दैन ?’

प्रकाशित मिति ११ असार २०७६, बुधबार १२:३३
Loading...