बार्सिलोनाका गोलरक्षकलाई भ्यालेन्सियाले भित्र्यायो

एजेन्सी, असार ११
स्पेनिस क्लब भ्यालेन्सियाले आफ्नो लिग प्रतिस्पर्धी क्लब बार्सिलोनाका दोस्रो रोजाइका गोलरक्षक ज्यासपर सिलेसनलाई अनुबन्ध गरेको छ । उसले आज अफिसियल रूपमा जानकारी दिँदै डच गोलरक्षक अनुबन्ध गरेको घोषणा गरेको हो ।

बार्सिलोनामा सिलेसन दोस्रो रोजाइका किपर थिए । उनलाई कोपा डेल रे फुटबलमा मात्रै सीमित राखिएको थियो । भर्खरै सकिएको सिजन उनले बार्सिलोनाका लागि सबैखाले खेल गरेर कूल ११ खेल मात्रै खेले ।

जसमा उनले कोपा डेल रे ७ खेल खेल्दा ला लिगामा ३ र युरोपियन च्याम्पियन्स लिगमा एक खेल खेले । बार्सिलोनामा तीन सिजन बिताउँदा सिलेसनले दुई ला लिगा दुई कोपा डेल रे, स्पेनिस सुपर कपलायत उपाधि जितेका थिए ।

तर, अब भ्यालेन्सियामा अनुबन्ध भएसँगै उनले नयाँ सिजनमा भ्यालेन्सियाबाट पाहिलो रोजाइका गोलरक्षकका रूपमा ला लिगादेखि लिएर च्याम्पियन्स लिगमा समेत टिमको गोल पोस्ट सम्हाल्नेछन् । उनी अब भ्यालेन्सियाका पहिलो रोजाइका गोलरक्षक बन्नेछन् । यस सिजन पनि भ्यालेन्सिया च्याम्पियन्स लिग खेल्दैछ ।

३० वर्षीय गोलरक्षकका लागि भ्यालेन्सियाले बार्सिलोनालाई ३० मिलियन युरो सरुवा फी तिरेको बताइएको छ । बार्सिलोनाले सिलेसनलाई सन् २०१६ मा डच क्लब आयाक्सबाट भित्र्याएको थियो । तर, बार्सिलोनामा उनले ज्यादै कम मात्रै मैदानमा समय पाउँथे । जर्मन गोलरक्षक मार्क आन्द्रे टर स्टेगेन घाइते हुँदा मात्रै उनलाई मौका दिइन्थ्यो ।

केही समयअघि सिलेसनले एक अन्तर्वार्तामा बोल्दै बार्सिलोनामा खेल्न पाएको भन्दै उनले ‘क्याम्प नोउमा आफूले नर्कजस्तै समय बिताइरहेको’भन्दै निराशा पोखेका थिए । त्यसैबेला उनले नयाँ सिजनअघि क्लब छाड्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति ११ असार २०७६, बुधबार १०:३२
Loading...