एजेन्सी, असार १०
स्पेनिस बार्सिलोनाले यसै समर सिजनमा आफ्ना पूर्वब्राजिलियन स्टार फरवार्ड नेइमार फर्काउन प्रयास गरिरहेको चर्चा छ । बार्सिलोनाले उनलाई सन् २०१७ मा २५ वर्षीय नेइमारलाई विश्वकीर्तिमानी २२२ मिलियन युरो मूल्यमा फ्रेन्च क्लब पिएसजीलाई बेचेको थियो ।
तर, बार्सिलोनामा लिओनल मेस्सीको छायाँमा परेको भन्दै हिँडेका नेइमारले पिएसजीमा दुई सिजन बिताउँदा पनि सोचेजस्तो सफलता नपाएपछि उनले यसै समरमा पिएसजी छाड्ने तयारी गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार नेइमार बार्सिलोना फर्किन तयार छन् । उनले क्लबसँग छलफल गरिरहेका छन् । यता, बार्सिलोनाले पनि यसका लागि कसरत गरिरहेको छ ।
पछिल्लो समय पिएसजीका अध्यक्ष नासिर अल खिलाफीसँग सम्बन्ध चिसिएपछि नेइमारले आफू पुनः पिएसजी नफिर्कने भनेर क्लबलाई खबर गरिसकेको बताइन्छ ।
नेइमार फर्किने सम्भावना बढेपछि बार्सिलोनाले भने नेइमारको मूल्य कम्तीमा २०० मिलियन युरोसम्म खर्चिने तयारी गरेको चर्चा छ । त्यसका लागि बार्सिलोनाले एक खेलाडी दिएर रकम थप्ने डिलसमेत गर्न सक्छ ।
यसबाहेक बार्सिलोनाले नेइमारसँग व्यक्तिगत रूपमा तीन सर्तसमेत राखेको स्पेनिस मिडियाले खबर छापेका छन् । एक सर्त नेइमारले बार्सिलोना छाड्दाको विषयसँग जोडिएको छ भने दुई सर्त आर्थिक विपयसँग जोडिएका छन् ।
यदि नेइमार बार्सिलोना फर्किन राजी भए आफूले राखेका यी तीन सर्त पूरा गर्न लगाएर बार्सिलोनाले उनीसँग २२ वर्षअघि उनले फ्यानहरूको भावना र क्लबको योजनाबिपरीत क्लब छाड्दाको ‘बदला लिने’ मनासाय राखेको देखिन्छ ।
पहिलो सर्त :
नेइमारले पिएसजीमा पाइहेको भन्दा कम तलब–सुविधामा बार्सिलोना आउन राजी हुनुपर्ने । बार्सिलोनाले नेइमारलाई फर्काउँदा आकर्षक सुविधा दिने पक्षमा छैन ।
दोस्रो सर्त :
सन् २०१७ मा बार्सिलोना छाडेपछि नेइमारले आफूले पाउनुपर्ने रकम नपाएको भन्दै बार्सिलोनाविरुद्ध स्पेनमा मुद्दा हालेका थिए । अब नेइमारले बार्सिलोना फर्किन सो मुद्दा बिनासर्त फिर्ता लिनुपर्नेछ ।
तेस्रो सर्त :
आफू पिएसजी छाडेर बार्सिलोना फर्किन चाहेको कुरा नेइमारले सार्वजनिक रूपमै व्यक्त गर्नुपर्नेछ ।
बार्सिलोनाले यो सर्तमा भने २ वर्षअघि नेइमारले क्लब छाड्दा उनले गल्ती गरेका थिए वा उनी गलत थिए भन्ने कुरा नेइमारले सार्वजनिक रूपमै स्वीकार्नुपर्ने भावनात्मक सर्त राखेको छ । र, नेइमारका लागि यो सर्त मान्न निकै कठिन हुने देखिन्छ ।
प्रकाशित मिति १० असार २०७६, मंगलवार ०६:५७