कोपा अमेरिका : पेरु र पराग्वे ‘उत्कृष्ट दुई’मा पर्दै क्वार्टरफाइनलमा

काठमाडौं, असार १०
पेरु र पराग्वे उत्कृष्ट दुईमा रहँदै ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आज भएको खेलमा इक्वेडर र जापान १–१ को बराबरीमा रोकिएपछि पेरु र पराग्वे अन्तिम आठमा प्रवेश गरेका हुन् ।

हरेक समूहबाट शीर्ष दुई टिम सोझै अन्तिम आठमा पुगेपछि तीनवटै समूहबाट तेस्रो स्थानमा रहेका तीन टिममध्येबाट अंक र गोलअन्तरमा अगाडि रहने दुई टिमलाई ‘उत्कृष्ट दुई’को विधिबाट क्वार्टरफाइनलमा प्रवेश दिइन्छ ।

जसमा समूह ‘ए’को तेस्रो स्थानमा पेरुको ४ अंक, समूह ‘बी’मा पराग्वेको २ अंक र समूह ‘सी’मा जापनको २ अंक रह्यो । त्यसमा पेरु तीन टिममध्येबाट सबैभन्दा राम्रो ४ अंक लिएर अन्तिम आठमा पुग्दा समान २–२ अंक भए पनि पराग्वेले जापानलाई गोलअन्तरमा पछि पारेर क्वार्टरफाइनलमा प्रवेश पायो ।

अन्तिम आठमा समूह ‘ए’बाट ब्राजिल समूह विजेता र भेनेज्वेला उपविजेता बनेर अर्को चरण पुगे । समूह ‘बी’बाट कोलम्बिया समूह विजेता र अर्जेन्टिना उपविजेता बनेर अर्को चरण पुगे भने समूह ‘सी’बाट उरुग्वे समूह विजेता र चिली उपविजेता बनेर अन्तिम आठमा पुगेका छन् ।

प्रकाशित मिति १० असार २०७६, मंगलवार ०१:२०
Loading...