कोपा अमेरिका : चिलीलाई हराउँदै उरुग्वे समूह विजेता, दुवै क्वार्टरफाइनलमा

काठमाडौं, असार १०
समूह चरणको अन्तिम खेलमा साबिक विजेता चिलीमाथि अन्तिम समयमा गोल गर्दै उरुग्वे ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । आज बिहान भएको खेलमा उरुग्वेले चिलीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुवै टिमले गोल गर्ने पटक–पटक अवसर बनाए पनि सदुपयोग हुन सकेन ।

तर, दोस्रो हाफमा उरुग्वेले गोलको खडेरी तोड्यो । उसका लागि खेलको ८२औं मिनेटमा रोड्रिग्वेजको पासमा इडिसन काभनीले आकर्षक हेडिङ गोल गरेपछि खेलमा उरुग्वेले १–० को अग्रता लियो ।

त्यसपछि बाँकी समयमा चिलीले गोल फर्काउन सकेन । र, खेल उरुग्वेले १–० ले जित्यो ।

यससँगै उरुग्वे ३ खेलबाट ७ अंक जोड्दै समूह ‘सी’को विजेता बनेर अन्तिम आठमा पुगेको छ । पराजित चिली तीन खेलमा दुई खेल जितेर ६ अंकसहित उपविजेता बनेर अन्तिम आठमा पुग्यो ।

प्रकाशित मिति १० असार २०७६, मंगलवार ००:५२
Loading...