वृद्धाश्रमलाई खाद्यान्न वितरण गर्दै नेपाली फ्यानहरूले मनाए मेस्सीको जन्मदिन

काठमाडौं, असार ९
विश्व फुटबलका चर्चित अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको जन्मदिन नेपाली फ्यानहरूले पनि विशेष रूपमा मनाएका छन् । नेपाली फ्यानहरूको सबैभन्दा ठूलो फेसबुक ग्रुप ‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’को आयोजनामा आज काठमाडौंमा सामाजिक कार्यका साथ मेस्सीको जन्मदिन मनाइएको हो ।

मेस्सी आजबाट ३२ वर्ष लागेका छन् । उनी स्पेनिस बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।

मेस्सीको जन्मदिनको अवसर पारेर फ्यानहरूले आज काठमाडौं महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल वरिष्ठ नागरिक समाज (वृद्धाश्रम भवन) पुगेर मेस्सीको नामको केक काटेर खुसीयालीसाथ जन्मदिन मनाएका हुन् ।

सोक्रममा आयोजकका तर्फबकाट सो वृद्धाश्रममा रहेका वृद्ध तथा वृद्धाहरूलाई विभिन्न खाद्य सामग्री प्रदान गरिएको फेसबुक समूहका प्रमुख कविराज श्रेष्ठले बताए ।

यसअघि पनि सोही समूहले काठमाडौंको बसन्तुपर क्षेत्रमा फ्यानहरूको भेला आयोजना गरेको थियो । सो फेसबुक समूहले नेपाली फुटबल क्षेत्रको विकास साथै अन्य सामाजिक क्षत्रमा समेत काम गर्ने योजनाअनुसार सक्रिय रहेको छ । सो समूहमा १ लाख ७५ हजारभन्दा बढी सक्रिय फ्यानहरू रहेका छन् ।

प्रकाशित मिति ९ असार २०७६, सोमबार १५:५९
Loading...