डिबालाले कप्तान र प्रशिक्षकसँग यसरी पोखे असन्तुष्टि !

एजेन्सी, असार ९
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा प्रमुख उपाधि दाबेदारमध्येको एक टिम अर्जेन्टिना अन्तिम आठमा पुगिसकेको छ । समूह चरणका तीन खेलमा एकमा हार, एकमा बराबरी र एकमा जित निकालेको ऊ ४ अंकसहित समूहको उपविजेता बनेर अर्को चरण पुग्यो ।

गत राति अर्जेन्टिनाले अन्तिम खेलमा पाहुना टोली कतारलाई २–० ले हराउँदा उसको उपाधि होड पनि कायमै रह्यो । सो खेलमा सर्जियो अगुएरो र लौटारो मार्टिन्जले गोल गरेका थिए ।

सो खेलमा इटालियन युभेन्टसबाट व्यावसायिक फुटबल खेल्ने पाउलो डिबालाले यस प्रतियोगितामा पहिलोपटक मैदान उत्रिने मौका पाए । यसअघि अर्जेन्टिनाले कोलम्बिया र पराग्वेविरुद्ध खेल्दा उनलाई बेन्चमै सीमित राखियो ।

तर, गत राति कतारविरुद्ध उनलाई खेलको ७६औं मिनेटमा बेन्चबाट मैदान छिराइयो । उनले पहिलो गोलकर्ता खेलाडी मार्टिन्लाई प्रतिस्थापन गरेका थिए ।

कोपामा पहिलोपटक मैदान उत्रिएका डिबालाले निर्धारित र थप समय गरी कूल १७ मिनेट मैदानमा बिताए । मैदान छिरेको पहिलो खेलमै डिबालाले अगुएरोको गोलमा असिस्ट गरेका थिए । उनले मैदान पसेको ६ मिनेटमा अगुएरोलाई गोलका लागि असिस्ट गरेका थिए ।

खेलपछि मिडियाले डिबालासँग प्रतिक्रिया मागे । त्यसक्रममा डिबालाले घुमाउरो पारमा असन्तुष्टि पोखे । उनलाई पत्रकारले ‘तपाईं टोलीमा परिरहनुभएको छैन, के समस्या चलिरहेको छ ?’ भनेर सोधेका थिए ।

सोक्रममा डिबालालेसो कुरा टिमका प्रशिक्षक र कप्तानलाई सोध्न अनुरोध गरे । ‘माफ गर्नु होला । यो प्रश्न मलाई हैन, प्रशिक्षक र कप्तानलाई सोध्नुहोस्,’ डिबालले मुस्कुराउँदै जवाफ दिए ।

उनलाई फेरि ‘मैदान छिर्नासाथ टिमको गोलमा योगदान दिनुभयो, कस्तो लागिरहेको छ ?’ भनेर सोधियो । डिबालाले भने, ‘म खुसी छु । यहाँ आइकन मैले पहिलोपटक खेल्ने मौका पाएँ । र, गोलमा सहयोग गर्न पाएँ ।’

डिबालाले एक खेलाडीका रूपमा आफूले सधैं शतप्रशित खेल्न चाहने भए पनि कुन खेलाडीलाई कहिले, कुन बेला र कति खेलाउने भन्ने मुख्य रूपमा प्रशिक्षक र कप्तानको भूमिका रहने बताए ।

‘म सधैं टिमको हिस्सेदार बन्न चाहन्छु । धेरैभन्दा धेरै खेलेर टिमलाई सघाउन चाहन्छु । म मात्रै हैन, सबै खेलाडी यही चाहन्छन्,’ डिबालाले भने, ‘तर, कप्तान र प्रशिक्षकले मलाई आवश्यक ठान्दैनन् भने मैले के गर्न सक्छु र !’

डिबालाले आगामी खेलहरूमा आफूले सुरुआती टिममा समय पाउने आशा व्यक्त गरे । ‘मलाई आशा छ, नकआउट चरणमा मैले अझै बढी समय पाउनेछु,’ डिबालले भने ।

अर्जेन्टिनी टिममा डिबालासँग कप्तान मेस्सीको सम्बन्धमा समस्या रहेको बताइन्छ । डिबाला राष्ट्रिय टिमका प्रमुख टुर्नामेन्टहरूमा पहिलो प्राथमिकतामा नपर्नुका पछाडि कप्तान मेस्सीसँगको आपसी टकराव कारण रहेको जानकारहरू बताउँछन् ।

गत वर्ष भएको रसिया विश्वकपमा समेत डिबालाले ज्यादै कम समय मात्रै मैदानमा समय पाएका थिए । अहिले कोपामा पनि उनी उस्तै खराब समयसँग जुधिरहेका छन् ।

अर्जेन्टिनी टिममा डिबालासँग मात्रै हैन, फरवार्ड माउरो इकार्डीस्ँग पनि मेस्सीको सम्बन्ध खराब छ । मेस्सीसँगको टकरावकै कारण इकार्डी रसिया विश्वकप र कोपा खेल्ने टोलीमा नपरहेको बताइन्छ ।

प्रकाशित मिति ९ असार २०७६, सोमबार ०९:५७
Loading...