एमबाप्पेको नयाँ गन्तव्य रियल मड्रिड !

एजेन्सी, असार ९
स्पेनिस रियल मड्रिडका ब्राजिलियन युवा खेलाडी भिनिसियस जुनियरले यो बताएका छन् कि, फ्रेन्च फरवार्ड केलियन एमबाप्पे ढिलो–चाँडो रियल मड्रिडमा अनुबन्ध हुनेछन् । अघिल्लो दिन स्पेनिस मिडियासँग अन्तर्वार्ता गर्दै यी ब्राजिलियन खेलाडीले यसबारे बोलेका हुन् ।

उनले एमबाप्पेसँग आफ्नो राम्रो मित्रता रहेको बताउँदै उनी भविष्यमा कहाँ जान सक्छन् भन्नेबारे आफूले भन्न सक्ने बताए । भिनिसियसका अनुसार एमबाप्पे सानैबाट रियल मड्रिड र क्रिस्टियानो रोनाल्डोका ठूला फ्यान रहेको बताउँदै उनले कुनै न कुनै बेला रियलको जर्सी लगाउने बताए ।

‘मेरो विचारमा उनी (एमबाप्पे) को भविष्य रियल मड्रिडमा हो । ढिलो–चाँडो उनी यहाँ आउनेछन्,’ भिनिसियसले भने ।

उनले अघि एमबाप्पेजस्ता खेलाडीले करिअरमा सबैखाले सफलता पाउन रियलजत्तिको सही क्लब अरू नरहेको बताए । ‘उनीसँग अझै प्रशस्तै समय छ । उनीसँग यहाँ आउनलाई पनि अझै समय छ । मलाई लाग्छ, उनले रियलबाट करिअरमा सबैखाले सफलता पाउन सक्छन्, उनका लागि यहाँभन्दा उचित क्लब अरू हुनै सक्दैन,’ भिनिसियले थपे ।

त्यसैगरी, भिनिसियसले आफ्नै देशका खेलाडी नेइमार बार्सिलोना फर्किने कुरामा सत्यता रहेको बताए । नेइमारभित्र अहिले पनि बार्सिलोनाप्रतिको मोह रहेको बताउँदै उनी पुनः बार्सिलोना जाने कुरा हल्ला मात्रै नरहेको बताए ।

‘अस्ति भर्खरै हाम्रो भेट भयो । उनी आफ्नो करिअरबारे चिन्तित छन्,’ भिनिसियसले भने, ‘मलाई लाग्छ, उनी बार्सिलोना फर्किने बाटोमा छन् ।’

प्रकाशित मिति ९ असार २०७६, सोमबार ०३:३९
Loading...