काठमाडौं, असार ९
लिओनल मेस्सीको टिम अर्जेन्टिना कठिन अवस्थाबाट ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको नकआउट चरण प्रवेश गरेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले आगन्तुक टोली कतारमाथि २–० को जित निकाल्दै उपाधि होड कायमै राखेको हो ।
फिफा वरीयतामा ५५औं स्थानको कतारलाई हराउन अर्जेन्टिनाले ठूलै संघर्ष गर्नुपरेको थियो । स्टार खेलाडीले भरिएको अर्जेन्टिनाका कुनै पनि स्टार फरवार्ड यस प्रतियोगितामा चल्न नसकेका बेला कतारविरुद्ध सर्जियो अगुएरोले आफ्नो नाममा गोलको खाता खोले ।
निकै कमजोर टिम कतारमाथि जित निकाल्न अर्जेन्टिनाका लागि लौटारो मार्टिन्जले खेलको पहिलो हाफमा १ गोल गरेका थिए । उनले खेल सुरु भएको चौथो मिनेटमै कतारी डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए ।
कतारका डिफेन्डरले आफ्ना साथीलाई दिएको पास साथीसम्म पुग्न नपाई मार्टिन्जले नियन्त्रणमा लिएर सहजै गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनायो । त्यसअघि कप्तान मेस्सी र अगुएरोले गोलका केही अवसर गुमाउँदा कतारी गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनाको आक्रमण निस्तेज पारिदिएका थिए ।
दोस्रो हाफमा अर्जेन्टिनाले थप आक्रामक खेल खेल्यो । त्यस दौरान मेस्सीले केही राम्रा प्रहार गरे पनि बलले जाली चुम्न भने सकेन ।
तर, खेलको ८२औं मिनेटमा अर्जेन्टिनाले अग्रता बढायो । उसका लागि अगुएरोले आकर्षक गोल गरेपछि खेल अर्जेन्टिनाले २–० ले जित्यो ।
युवा फरवार्ड पाउलो डिबालाले यस प्रतियोगितामा पहिलोपटक बेन्चबाट खेल्ने मौका पाए । उनलाई खेलको ७६औं मिनेटमा गोलकर्ता मार्टिन्जको स्थानमा मैदान छिराइएको थियो ।
दोस्रो हाफमा कतारले थोरै मात्र गोलको मौका बनायो । एक सहज मौकामा उसका खेलाडी चुक्दा उसले ६१औं मिनेटमा खेल बराबरी गर्ने मौका गुमाएको थियो ।
यो जितसँगै अर्जेन्टिना समूह ‘बी’को उपविजेता बनेर क्वार्टरफाइनल प्रवेश गरेको छ । उसले तीन खेलमा एकमा हार, एकमा बराबरी र एकमा जित निकाल्दै ४ अंक बनाएर अर्को चरण पुग्यो । कोलम्बिया ३ वटै खेल जितेर शतप्रतिशत ९ अंक जोड्दै समूह विजेता बनेर अर्को चरण पुग्यो ।
यस समूहबाट २ खेलमा हार र एक खेल बराबरी गरेको कतार प्रतियोगिताबाट आउट भएको छ भने पराग्वेको उत्कृष्ट दुईमा रहेर अर्को चरण जाने अंकगणितीय सम्भावना जीवितै छ । तर, उसले अन्य समूहको अन्तिम नतिजासम्म पखिर्नुपर्छ ।
प्रकाशित मिति ८ असार २०७६, आईतवार २०:५१