पिएसजी छाडेका ड्यानी आल्भेसको ‘नयाँ उडान’ बार्सिलोनातर्फ !

एजेन्सी, असार ८
आजै मात्र फ्रेन्च क्लब पिएसजी छाड्ने घोषणा गरेका ब्राजिलियन खेलाडी ड्यानी आल्भेस आफैंले बार्सिलोना फर्किन क्लबसँग प्रस्ताव गरेका छन् । हाल ३७ वर्ष पुगेका उनले गत राति कोपा अमेरिका फुटबलमा ब्राजिलले पेरुमाथि ५–० को जित निकालेपछि अब पिएसजीमा नरहने घोषणा गरेका थिए ।

आल्भेस सन् २०१७ मा इटालियन क्लब युभेन्टसबाट पिएसजीमा पुगेका थिए । २ वर्ष पेरिसमा रहँदा उनले विभिन्न चार उपाधि जिते ।

त्यसअघि आल्भेस सन् २००८ देखि २०१६ सम्म बार्सिलोनामा रहेका थिए । बार्सिलोनामा ८ वर्ष एक प्रमुख खेलाडीका रूपमा बिताउँदा उनले कूल २४७ खेल खेल्दै १४ गोल गरेका थिए ।

आल्भेसले सन् २००२ बाट २००८ सम्म स्पेनिस सेभिल्ला बाट खेलेका थिए भने २००८ देखि २०१६ सम्म बार्सिलोनामा खेलेका थिए । त्यसपछि सन् २०१६/१७ को सिजन उनले इटालियन युभेन्टसबाट खेलेर पिएसजीमा अनुबन्ध भएका थिए ।

स्पेनिस मिडियाले बार्सिलोना क्लबको स्रोत उद्धृत गर्दै आल्भेस आफैंले बार्सिलोना आउन अफर गरेका हुन् । उनले बार्सिलोना आफ्नो पुरानो घर रहेको बताउँदै आफूले केही समय पुनः बार्सिलोनाको जर्सीमा खेलेर फुटबलबाट सन्यास लिन चाहेको बताएका छन् ।

विगतमा बािर्सलोनामा ८ वर्ष बिताउँदा सो अवधिमा बार्सिलोनामा सर्वाधिक धेरै असिस्ट गर्ने खेलाडी आल्भेस नै थिए ।

पिएसजीसँग सम्झौता सकिएकाले यदि बार्सिलोना वा अन्य जुनसुकै क्लबले चाहे आल्भेसलाई फ्री ट्रान्सफरमा भित्र्याउन पाउनेछन् ।

केही समयअघि एक अन्तर्वार्तामा बोल्दै आल्भेसले आफूले बार्सिलोनाबाट खेल करिअर अन्त्य गर्न पाए खुसी हुने बताएका थिए । त्यसबेला उनले ‘बार्सिलोनाले बोलाए म भोलि नै क्लब छाडेर जान्छु’ भनेर प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति ८ असार २०७६, आईतवार १४:५९
Loading...