के लिभरपुलले कोउटिन्होलाई फर्काउँदैछ ?

एजेन्सी, असार ८
स्पेनिस बार्सिलोनाका ब्राजिलियन स्टार खेलाडी फिलिपे कोउटिन्हो बार्सिलोनामा खराब समय गुजारिरहेका छन् । अघिल्लो सिजनमा बार्सिलोनाको इतिहासमै सर्वाधिक महँगो १४५ मिलियन पाउन्डमा अनुबन्ध भएका उनको पहिलो सिजन प्रभावशाली रहे पनि दोस्रो सिजन समग्रमा खराब रह्यो ।

भर्खरै सकिएको सिजनमा बार्सिलोना युरोपियन च्याम्पियन्स लिग र कोपा डेल रे फुटबलबाट आउट भएपछि थप आलोचित बनेका उनलाई बार्सिलोनाले यसै समरमा बेच्ने तयारी गरेको चर्चा छ । बार्सिलोनाले ब्राजिलियन खेलाडीलाई लामो रस्साकस्सीपछि इंग्लिस क्लब लिभरपुलबाट अनुबन्ध गरेको थियो ।

बार्सिलोनामा खराब सिजन बिताएका आफ्ना पूर्वखेलाडी कोउटिन्होलाई लिभरपुलले फर्काउन सकिने सम्भावनामाथि छलफल सुरु गरेको इंग्लिस मिडियाले जनाएका छन् । पछिल्ला रिपोर्टअनुसार टोलीका कोच जोर्गेन क्लोपले आफ्ना पूर्वस्टार खेलाडीलाई पुनः आफ्नो टोलीमा अटाउने संकेत दिएका छन् ।

लिभरपुलमा छँदा कोउटिन्होलाई क्लोपले निकै प्राथमिकता दिने गरेका थिए । बार्सिलोनाले खरिद गर्दाको समयमा पनि क्लोपले लिभरपुलमै भविष्य रहेको भन्दै उनलाई सम्झाएको खबर आएको थियो ।

पछिल्लो सिजन बार्सिलोनामा सुरुआती टोलीमा स्थान बनाउनकै ठूलो संघर्ष गरेका कोउटिन्होको खेल्ने शैलीमा खास गरी प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको रणनीति सुहाउँदो नहुँदा कोउटिन्होले लयमा खेल्न सकेका छैनन् । यो कुरा बुझेका क्लोपले कोउटिन्हो लिभरपुल फर्किए उनले पुनः आफ्नो पुरानो लय समात्ने ठान्छन् ।

‘द सन’का अनुसार लिभरपुलले बार्सिलोनाबाट कोउटिन्हो फर्काउने सम्भावना छ । तर, त्यसका लागि उसले आफूले बचेको भन्दा कम मूल्य मात्रै खर्चिने छ । यो बताइएको छ कि, लिभरपुल बार्सिलोनालाई कोउटिन्होका लागि १०० मिलियन पाउन्डभन्दा बढी मूल्य तिर्न तयार हुनेछैन ।

सिजन २०१८/१९ मा कोउटिन्होले बार्सिलोनाका लागि सिजनभरमा कूल ५३ खेल खेल्दै ११ गोल गरेर २ गोलका लागि असिस्ट गरेका थिए ।

कोउटिन्हो हाल कोपा अमेरिका खेल्न ब्राजिलको टोलीमा छन् । त्यहाँ उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ब्राजिल कोपाको अन्तिम आठमा पुगिसकेको छ ।

प्रकाशित मिति ८ असार २०७६, आईतवार १२:१९
Loading...