एजेन्सी, असार ८
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन डिफेन्डर ड्यानी आल्भेसले क्लब छाड्ने घोषणा गरेका छन् । उनले आज सामाजिक सन्जाल इन्स्टाग्रामबाट एक पोस्ट गर्दै क्लब छाड्ने घोषणा गरेका हुन् ।
हाल कोपा अमेरिका फुटबलमा ब्राजिलियन टोलीको कप्तानी गरिरहेका उनले गत राति भएको खेलमा पेरुविरुद्ध ५–० को जित निकाल्नेक्रममा १ गोल गरेका थिए । सो खेलपछि उनले नयाँ सिजन आफू पिएसजीमा नरहने घोषणा गरेका हुन् ।
आल्भेस सन् २०१७ मा पिएसजीमा अनुबन्ध भएका थिए । त्यसअघि उनले स्पेनिस क्लब सेभिल्ला, बार्सिलोना र इटालियन युभेन्टसबाट पनि खेलेका थिए ।
‘मेरो जीवनको एक चक्र आज सकिएको छ । जितको चक्र, सिकाइ र अनुभवको,’ ३६ वर्षीय उनले बिदाइ सन्देशमा लेखेका छन् ।
उनले क्लब पिएसजी र आफ्ना सहकर्मीहरूलाई पनि धन्यवाद दिएका छन् । ‘एक परिवारमा रहेर काम गर्ने मौका दिएकोमा पिएसजी र सिंगो क्लबलाई धन्यवाद दिन चाहन्छु । क्लबका सम्पूर्ण कर्मचारीलाई पनि धन्यवाद दिन चाहन्छु, जसले मेरा लागि क्लबलाई सधैं विशेष बनाउन सहयोग गरे,’ आल्भेसले भनेका छन् ।
२ वर्ष पिएसजीमा बिताएका आल्भेसले दुई घरेलु लिगको उपाधिसहित जम्मा चार उपाधि जितेका थिए ।
क्लब छाड्ने घोषणा गरे पनि उनले अबको गन्तव्य कता हुने भन्नेबारे भने खुलाएका छैनन् । यसअघि उनले आफूलाई एकपटक प्रिमियर लिग क्लबबाट खेल्ने इच्छा रहेको बताएका थिए ।
प्रकाशित मिति ८ असार २०७६, आईतवार ११:२०