‘बार्सिलोनालाई जिल्ल्याउँदै’ युभेन्टसले डि लिग्ट भित्र्याउने पक्का !

एजेन्सी, असार ८
इटालियन क्लब युभेन्टसले डच क्लब आयाक्सका युवा डिफेन्डर डि लिग्ट भित्र्याउने पक्का भएको छ । इटालियन मिडियाका अनुसार १८ वर्षीय युवा डिफेन्डरले युभेन्टसको प्रस्ताव स्वीकारेका छन् ।

टिममा युवा डिफेन्डरको खोजीमा रहेको युभेन्टसले आकर्षक बजेट खर्चिंदै खेलाडीलाई समेत राम्रो सुविधा दिन तयार भएपछि डि लिग्ट इटाली सर्न राजी भएका हुन् ।

यसअघि डि लिग्ट भित्र्याउन स्पेनिस बार्सिलोना सुरुबाटै लागेको थियो । उसले आयाक्सका अधिकारीसँग बैठकसमेत गरेको थियो । डि लिग्ट बार्सिलोना सर्ने पक्काजस्तै भएको भनिए पनि बार्सिलोनाले डि लिग्टका लागि मागेजति बजेट खर्चिन नसक्नु र बार्सिलोना आएपछि उनले पहिलो रोजाइमा खेल्न पाउनेमा बार्सिलोनाले विश्वास दिलाउन नसक्दा डि लिग्टले बार्सिलोनाको प्रस्ताव स्वीकारेका थिएनन् ।

त्यसपछि डि लिग्ट भित्र्याउन फ्रेन्च क्लब पिएसजी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीसमेत दौडमा रहे पनि युभेन्टसले सबैलाई जिल्ल बनाउँदै स्टार युवा खेलाडी भित्र्याउने नजिक पुगेको हो ।

इटालियन मिडियाका अनुसार युभेन्टस र आयाक्सबीच मोटामोटी सहमति बनिसकेको छ । उनीहरूले यसै साता खेलाडी किनबचेको घोषणा गर्ने तयारी गरेका छन् । युभेन्टसले डि लिग्टका लागि ७० मिलियन युरो तिर्ने भएको छ । साथै, युभेन्टसको टोलीमा डि लिग्टले पहिलो रोजाइमा राख्ने बचनसमेत दिएको छ ।

यसअघि युइएफए नेसन्स लिगको फाइनलमा पोर्चुगल र नेदरल्यान्ड्सको खेल दौरान युभेन्टसका क्रिस्टियोनो रोनाल्डोले डि लिग्टलाई युभेन्टस आउन अनुरोध गरेका थिए । त्यसपछि पनि रोनाल्डो र डि लिग्टले एकपटक कुराकानी गरेपछि युभेन्टसले अफिसियल रूपमा आयाक्सलाई प्रस्ताव गरेको थियो ।

मूलतः डि लिग्ट भित्र्याउन रोनाल्डोले नै मध्यस्थताको काम गरेको बताइन्छ । डि लिग्टले पहिलेबाटै रोनाल्डोलाई विशेष सम्मान दिने गर्छन् । यता, डि लिग्ट युभेन्टसकै डिफेन्डरद्वय जर्जियो चिलिनी र बोनुचीको त ठूला फ्यान नै हुन् । यो कुरा उनी आफैंले पटक–पटक बताएका छन् ।

यी नै कारणले पनि डि लिग्टले युभेन्टसको प्रस्ताव स्वीकारेर इटाली सर्न राजी भएको बताइन्छ । डच खेलाडी उनी आयाक्सका कप्तानसमेत हुन् ।

प्रकाशित मिति ८ असार २०७६, आईतवार ०३:४६
Loading...