अफ्रिका कप : युगान्डा र नाइजेरियको जित

काठमाडौं, असार ८
अफ्रिका कप अफ् नेसन्स फुबटल प्रतियोगितामा युगान्डा र नाइजेरियाले विजयी सुरुआत गरेका छन् । गत राति भएको खेलमा युगान्डाले डिएआर कङ्गोमाथि २–० को सहज जित निकाल्यो ।

युगान्डाको जितमा खेलको १४औं मिनेटमा प्याट्रिक काड्डुले पहिलो गोल गरेका थिए । उनकै गोलको मदतमा युगान्डाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

त्यसपछि दोस्रो हाफ सुरु भएको ३ मिनेटमै युगान्डाका लागि इम्यानुएल ओकेवीले गोल गर्दै खेल २–० बनाए । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल युगान्डाले २–० ले जित्यो ।

यो जितसँगै युगान्डा समूह ‘ए’मा ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा चढेको छ । ३ अंक नै भएको इजिप्ट दोस्रो स्थानमा छ ।

गत राति नै भएको अर्को खेलमा नाइजेरियाले बुरुन्डीलाई १–० ले हरायो । नाइजेरियालाई जिताउन १ मात्रै विजयी गोल खेलको ७७औं मिनेटमा ओडिओन इग्लाओले गरेका थिए । यो जितपछि नाइजेरिया समूह ‘बी’मा ३ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति ८ असार २०७६, आईतवार ००:३४
Loading...