कोपा अमेरिका : पेरुमाथि फराकिलो जित निकाल्दै ब्राजिल क्वार्टरफाइनलमा

काठमाडौं, असार ८
आयोजक देश ब्राजिल कोपा अमेरिका फुटबलको नकआउट चरण प्रवेश गरेको छ । गत राति भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलले पाहुना टोली पेरुमाथि ५–० को रवाफिलो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

यससँगै प्रमुख उपाधि दबेदार ब्राजिलले अर्को चरणको यात्रा तय गरेको छ भने पराजित पेरुको पनि अन्तिम आठमा पुग्ने सम्भावना बाँकी नै छ ।

पेरुविरुद्ध सुरुबाटै खेल एकपक्षीय बनाएको ब्राजिलका लागि ५ जना फरक–फरक खेलाडीले गोल गरे । जसमा खेलको १२औं मिनेटमा कासेमिरोले पहिलो गोलको खाता खोलेका थिए ।

त्यसपछि खेलको १९औं मिनेटमा रोवर्ट फर्मिन्होले गोल गर्दै अग्रता २–० बनाउँदा ३२औं मिनेटमा एभर्टन स्वारेजले गोल गर्दै पहिलो हाफमा ब्राजिललाई ३–० को सहज अग्रता दिलाए ।

दोस्रो हाफमा पनि ब्राजिल खेलमा हाबी भयो । जहाँ उसले २ गोल थप्यो । खेलको ५३औं मिनेटमा ड्यानी आल्भेसले गोल गरेर अग्रता ४–० बनाए भने ९०औं मिनेटमा विलियनले गोल गरेपछि खेल ब्राजिलले ५–० ले जित्यो ।

यससँगै ब्राजिल समूह ‘ए’बाट कूल ७ अंकसहित समूह विजेता बनेर अर्को चरण पुगेको छ । पराजित पेरु ४ अंकहित तेस्रो स्थानमा छ । ऊ उत्कृष्ट दुईमा रहेको अर्को चरण जाने बलियो सम्भावना छ । तर, उसले अन्य दुई समूहको अन्तिम खेलसम्म पखिर्नुपर्छ ।

प्रकाशित मिति ७ असार २०७६, शनिबार २३:४९
Loading...