नेइमारलाई बार्सिलोनाको ‘काउन्टर’ : घटायो खरिद मूल्य !

एजेन्सी, असार ७
स्पेनको क्लब बार्सिलोना नयाँ सिजनअघि आफ्ना पूर्वस्टार फरवार्ड नेइमारलाई फर्काउने तयारीमा लागेको चर्चा चुलीमा छ । उसले २ वर्षअघि विश्वकीर्तिमानी मूल्य २२२ मिलियन युरोमा आफैंले फ्रेन्च क्लब पिएसजीलाई बेचेका खेलाडीलाई पुनः फर्काउन चासो दिएको छ ।

पिएसजीमा क्लबका अध्यक्ष नासिर अल खिलाफीसँग टकराव बढेपछि नेइमारले क्लब छाड्ने लगभग पक्का भएको बताइन्छ । तर, बार्सिलोना फिर्ती नेइमारका लागि सजिलो छैन । यस बाटोमा मूलतः पिएसजीले नेइमारका लागि माग गर्ने मूल्यदेखि अन्य कुरा पनि बाधक बन्ने देखिन्छ ।

यसअघि पिएसजीले नेइमारका लागि ३०० मिलियनसम्म माग्न सक्ने रिपोर्ट आए पनि पिएसजीले हालसम्म नेइमारको मूल्य तोकेको छैन । उसले ‘स्पेनबाट उचित अफर आए नेइमार बेच्न तयार’ रहेको सम्म जनाएको छ ।

हालसम्म सरुवा बजारमा ‘बार्सिलोनाले नेइमार फर्काउन ‘१० मिलियन युरो रकमसहित आफ्ना खेलाडी फिलिपे कोउटिन्हो, सामुएल उम्टिटी र इभान राकिटिक दिने’, ‘नेइमार ल्याउन बार्सिलोनाले १०० मिलियन युरो रकमसहित कोउटिन्हो दिने’ सम्मका चर्चा मूल रूपमा आएका छन् ।

तर, स्पेनका पछिल्ला मिडिया रिपोर्टअनुसार बार्सिलोनाले नेइमारलाई मोटो बजेट खर्चिने योजनाबाट एक कदम पछि हटेको छ । ‘मार्सा’मा प्रकाशित रिपोर्टअनुसार बार्सिलोनाले हालको अवस्थामा नेइमारका लागि बढीमा मात्रै २०० मिलियन युरोको बोल लगाउने भएको छ ।

बार्सिलोना फर्किन असहज परिस्थितिसँग जुध्नुपर्ने नेइमारको अवस्था बुझेको बार्सिलोनाले आफूले बिक्री मूल्यभन्दा कम बजेट मात्रै खर्चिने देखिएको छ । बार्सिलोनाले सन् २०१७ मा नेइमारलाई २२२ मिलियन युरोमा बेचेको थियो ।

नेइमारले बार्सिलोनाका समर्थकहरूको भावना र क्लबको योजनाबिपरीत अचानक क्लब छाड्ने निर्णय लिएकाले अहिले पनि बार्सिलोनाका समर्थकहरूको ठूलो हिस्साले नेइमारप्रति एकप्रकारको आक्रोशको भानवा पालेका छन् । उनीहरूलाई लाग्छ कि ‘नेइमारले हामीलाई धोका दिएर पिएसजी गए ।’

अहिले बार्सिलोनाले नेइमार फर्काउनु परे कहीं न केही सो कुरालाई चित्रित गर्न प्रयास गर्ने अनुमान लगाउन सकिन्छ । किनभने, नेइमार बेच्दा बार्सिलोनाले तीब्र असन्तुष्टि जनाएको थियो ।

पछि नेइमारले आफूले पाउने रकम नपाएको भन्दै बार्सिलोनाविरुद्ध मुद्दा हालेपछि बार्सिलोना र नेइमारबीचको सम्बन्ध झनै बिग्रिएको थियो । सो कुराबाट पनि बार्सिलोनाका फ्यानहरूमा नेइमारप्रति खराब धारणा बनेको छ ।

प्रकाशित मिति ७ असार २०७६, शनिबार १३:५८
Loading...