बार्सिलोनाका बहुसंख्यक फ्यानहरूले भने– ‘हामीलाई नेइमार चाहिँदैन’

एजेन्सी, असार ७
स्पेनिस क्लब बार्सिलोनाले यसै समर सिजनमा आफ्ना पूर्वस्टार खेलाडी नेइमार फर्काउने प्रयास गरिरहेको छ । सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा फ्रेन्च क्लब पिएसजीलाई बेचेका २७ वर्षीय नेइमारलाई बार्सिलोनाले नयाँ सिजनअघि नै केही खेलाडीसहित रकम थपेर फर्काउन चाहेको चर्चा सरुवा बजारमा छ ।

खास गरी नेइमार फर्काउन बार्सिलोनाका कप्तान लिओनल मेस्सी, लुइस स्वारेज, जेरार्ड पिकेलगायतले क्लबसँग समन्वय गरिरहेको बताइन्छ ।

तर, बार्सिलोनाका फ्यान तथा क्लबका साधारण सदस्यहरूले भने नेइमार फर्काउने योजनाको विरुद्धमा मत दिएका छन् । स्पेनको पत्रिका ‘मुन्डो डेपोर्टिभो’ले गरेको एक सर्वेअनुसार बार्सिलोनाका बहुसंख्य घरेलु समर्थकहरूले नेइमारको फिर्ती चाहेका छैनन् ।

नेइमारलाई फर्काउने विषयमा गरिएको भोटिङ पोलमा कूल मतदातामध्ये ७१ प्रतिशले नेइमार फिर्तीविरुद्ध मत दिएका छन् । ती फ्यानहरूले ‘नेइमारले बार्सिलोना छाड्दा आफूहरूको भावनामा ठेस लगाएको’ कुरालाई कारण दिएका छन् ।

उनीहरूले क्लबले तत्काल नेइमारको विषय बन्द गरेर अर्को विकल्पमा लाग्नुपर्ने सुझाव दिएका छन् । नेइमारलाई पर्काउनुपर्छ भन्नेमा मात्रै ३.६ प्रतिशत फयान देखिएका छन् ।

त्यसैगरी, फ्यानहरूको ठूलो संख्याले डच क्लब आयाक्सका युवा डिफेन्डर डि लिग्टलाई सक्दो चाँडो अनुबन्ध गर्न क्बललाई सुझाव दिएका छन् ।

त्यस्तै, फ्यानहरूले हालका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गरेर नयाँ प्रशिक्षक खोजी गर्न सुझाव दिँदै ब्राजिलियन फलिपे कोउटिन्हो र फ्रेन्च उसामान डेम्बेलेलाई बेच्न नहुने मत राखेका छन् ।

प्रकाशित मिति ७ असार २०७६, शनिबार ०८:४२
Loading...