कोपा अमेरिका : क्वार्टरफाइनल जान निर्णायक खेलमा ब्राजिल र पेरु भिड्दै

काठमाडौं, असार ७
आफ्नो भूमिमा भइरहेको कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले भरे राति समूह चरणको अन्तिम खेल खेल्दैछ । समूह ‘ए’मा रहेको उसले क्वार्टरफइनल जान निर्णायक खेल पेरुसँग खेल्न लागेको हो ।

ब्राजिल हाल २ खेलपछि ४ अंकका साथ शीर्ष स्थानमा छ । समान ४ अंक नै भएको पेरु गोलअन्तरमा पछि परेर दोस्रोमा छ । २ अंक भएको भेनेज्वेला तेस्रो तथा बोलिभिया अंकविहीन हुँदै पुछारमा छ ।

क्वार्टरफाइनल जान ब्राजिल र पेरु दुवैका लागि आजको खेल निर्णायक हुनेछ । समान अंक भएकाले दुवै टिम यो खेल जितेर समूह विजेता बनेर अर्को चरण पुग्न चाहन्छन् ।

आज बढी दबाबमा ब्राजिल हुनेछ । प्रमुख उपाधि दाबेदार उसले आज यो खेल हारे अर्को चरणका लागि उत्कृष्ट दुईको बाटो समात्नुपर्ने हुनसक्छ । यदि आज उसलाई पेरुले हरायो र आजै हुने अर्को खेलमा भेनेज्वेलाले बोलिभियालाई हरायो भने ब्राजिल सोझै अर्को चरण जान पाउँदैन । त्यसका लागि उसले उत्कृष्ट दुईको बाटो पर्खिनुपर्छ । त्यहाँ अंकगणितको खेल हुन्छ ।

यदि आज पेरुले आफ्नो खेल जित्यो र भेनेज्वेलाले आफ्नो खेलमा बोलिभियालाई हरायो भने भेनेज्वेला दोस्रो स्थानमा रहेर अर्को चरण पुग्नेछ ।

तसर्थ आज ब्राजिल र पेरु भिड्दा दुवै टिम दबाबमा हुनेछन् । सजिलै अर्को चरण पुग्न दुवैका लागि यो खेलको ३ अंक ज्यादै महत्त्वपूर्ण छ ।

आजै हुने अर्को खेलमा भेनेज्ववेला र बोलिभिया खेल्दैछन् । सो खेलमा भेनेज्वेलाले स्पष्ट जित निकाले कम्तीमा उसको उत्कृष्ट दुईमा रहेर अर्को चरण जाने सम्भावना कायमै रहन्छ । यदि ब्राजिल हारे र आफूले जिते ऊ सोझै अन्तिम आठमा पुग्नेछ ।

यी दुवै खेल नेपाली समयअनुसार भरे (आइतबार बिहान) राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति ७ असार २०७६, शनिबार ०८:१६
Loading...