बार्सिलोनाको असफलता र प्रशिक्षकबारे जाभीको यस्तो टिप्पणी

एजेन्सी, असार ७
सिजन २०१८/१९ मा बार्सिलोना कुनैबेला ट्रिबेल उपाधि जित्ने दिशामा थियो । तर, दुई साताको बीचमा युरोपियन च्याम्पियन्स लिग र कोपा डेल रे फुटबलबाट आउट भएपछि बार्सिलोना घरेलु लिग ला लिगामा मात्रै खुम्चियो ।

बार्सिलोनाले समग्रमा खराब सिजन बिताएपछि त्यसबेला प्रशिक्षक अर्नेस्टो भाल्भर्डे, कप्तान लिओनल मेस्सीदेखि प्रमुख खेलाडीको चर्को आलोचना भयो । अहिले पनि बार्सिलोनाका थुप्रै स्टार खेलाडीहरू च्याम्पियन्स लिगको पराजयका नाममा आलोचित बन्दै आइरहेका छन् ।

यसैबीच, बार्सिलोनाका लिजेन्ड खेलाडी तथा पूर्वकप्तान जाभीले भर्खरै सकिएको सिजनमा बार्सिलोनाले आफ्नै कमजोरीका कारण दुई उपाधि जित्न नसकेको बताएका छन् । उनले खास गरी च्याम्पियन्स लिगमा पराजय भोग्नु निकै लाजमर्दो कुरा रहेको बताउँदै त्यसको कारण औंल्याएका छन् ।

हालै एक स्पेनिस रेडियोसँग कुरा गर्दै उनले बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रे हार्नुमा खेलाडीभन्दा बढी प्रशिक्षकको कमजोरी रहेको बताए । प्रशिक्षक भाल्भर्डेले टोलीका युवा खेलाडीलाई सही तरिकाले परिचालन गर्न नसक्दा खराब नतिजाको सिकार हुनु परेको बताए ।

‘बार्सिलोनाले च्याम्पियनस लिग हार्नु असोचनीय नतिजा थियो, मलाई निकै दिनसम्म पत्याउन गाह्रो भयो,’ जाभीले भने, ‘मेरो विचारमा ती खेलमा प्रशिक्षकको योजना गलत थिए ।’

जाभीले अघि थपे, ‘टोलीमा प्रशस्तै क्षमतावान् युवा खेलाडी थिए । कठिन अवस्थामा उनीहरूलाई नयाँ रणनीतिका साथ प्रयोग गर्नुपर्ने थियो । तर, प्रशिक्षकले सीमित खेलाडीमाथि विश्वास देखाए । जसको परिणाम निकै महँगो पर्न गयो ।’

जाभीले बार्सिलोनाले आफ्नै शैलीको खेल खेल्नुपर्ने बताउँदै आवश्यकताअनुसार युवा खेलाडीको प्रयोग गर्न नसक्नु नै समस्या भएकोमा जोड दिए । ‘खेलाडीले कसरी खेल्ने भन्ने रणनीति प्रशिक्षकले बनाउने हो । कस्तो समयमा कसलाई कसरी मैदानमा खटाउने भन्ने प्रशिक्षकले तय गर्ने हो । यदि तपाईं संकटका बेला खेलाडी छनौट र मैदानको रणनीतिमा फेरबदल गर्न सक्नुहुन्न भने निकास निस्कँदैन ।’

जाभीले नयाँ सिजनमा बार्सिलोनाले ठूला उपाधि जित्न युवा खेलाडीलाई विश्वास गर्दै उनीहरूलाई तयार पार्नुपर्ने बताए । ‘बार्सिलोनाको ‘बी’ टिममा प्रशस्तै युवा खेलाडी छन् । अब उनीहरूलाई सिनियर टिममा ठाउँ दिनुपर्छ । केही नयाँ खेलाडी आवश्यक छ,’ जाभीले भने, ‘युरोपियन सफलता फर्काउन गोलकर्ता खेलाडी भित्र्याउनुपर्छ ।’

बार्सिलोनालाई नयाँ प्रशिक्षक आवश्यक छ भनेर सोधिएको प्रश्नमा जाभीले स्पष्ट जवाफ दिएनन् । ‘माफ गर्नु होला, यो मेरो विषय होइन । क्लबका कप्तान र अध्यक्षलाई यसबारे सोध्नुहोस् ।’

प्रकाशित मिति ७ असार २०७६, शनिबार ०३:२३
Loading...