बार्सिलोनाका ‘नम्बर वान टार्गेट’लाई युभेन्टसले भित्र्याउँदै !

एजेन्सी, असार ७
इटालियन क्लब युभेन्टस स्पेनिस क्लब बार्सिलोनाले ‘नम्बर वान टार्गेट’मा राखेका डिफेन्डर डि लिग्ट भित्र्याउने नजिक पुगेको छ । यस्तो रिपोर्ट डच मिडिया ‘डे टेलिग्राफ’ले छापेको छ ।

डच क्लब आयाक्सका कप्तानसमेत रहेका डि लिग्टलाई समर सिजन सुरु भएदेखि नै बार्सिलोनाले मुख्य योजनामा राखेर अनुबन्ध गर्न प्रयास गरिरहेको थियो । उसले क्लब आयाक्ससँग यस विषयमा बैठकसमेत गरेको थियो ।

तर, बार्सिलोनाले खेलाडीलाई क्लबमा दिने तलब, उनका एजेन्टलाई तिर्ने रकम र बार्सिलोना आएपछि डि लिग्टले पहिलो रोजाइमा रहेर खेल्ने पाउने कुरामा विश्वस्त दिलाउन नसक्दा डि लिग्ट बार्सिलोना आउन तयार थिएनन् ।

मुख्य गरी बार्सिलोनामा आएपछि आफू पहिलो रोजाइमा पर्ने–नपर्नेमा बार्सिलोनाले स्पष्ट धारणा नदिँदा उनले आफ्नो भविष्यबारे निर्णय लिएका थिएनन् ।

१८ वर्षीय युवा डिफेन्डरका लागि बार्सिलोनासहित फ्रेन्च क्लब पिएसजी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि चासो दिँदै आएका थिए । तर, यी सबैलाई उछिन्दै युभेन्टस डि लिग्ट भित्र्याउने नजिक पुगेको डच मिडियाले जनाएका छन् ।

खबरअनुसार युभेन्टसले डि लिग्टका लागि ८० मिलियनसम्म खर्चिने तयारी गरेको छ । यसअघि बार्सिलोनाले भने उनका लागि ६० मिलियनसम्मको मात्रै प्रस्ताव गरेको थियो ।

प्रकाशित मिति ७ असार २०७६, शनिबार ०२:५७
Loading...