कोपा अमेरिका : इक्वेडरलाई हराउँदै चिली अन्तिम खेलअघि नै क्वार्टरफाइनलमा

काठमाडौं, असार ७
साबिक च्याम्पियन टिम चिली ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । अहिले बिहान भएको समूहको दोस्रो खेलमा इक्वेडरलाई २–१ ले हराउँदै चिली अन्तिम खेलअघि नै अर्को चरण प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा चिलीका लागि खेलको आठौं मिनेटमा जोस पेड्रोले पहिलो गोल गरेका थिए । तर, त्यसपछि खेलको २६औं मिनेटमा इक्वेडर खेलमा फर्कियो ।

चिलीका खेलाडीले बक्समा फउल गरेपछि इक्वेडरलाई पेनाल्टीको मौका दिएको थियो, जसमा इनर भ्यालेन्सियाले गोल गर्दै खेल १–१ बनाए ।

तर, चिलीले दोस्रो हाफमा खेलमा अग्रता लियो । खेलको ५१औं मिनेटमा चिलीका लागि एलेक्सिस सान्चेजले गोल गरेर टिमलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि बँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि चिलीले खेल २–१ ले जित्यो । त्यसअघि इक्वेडर ८९औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । ग्याब्रिएल अकिल्लर रातो कार्ड खाँदै बाहिरिएका थिए ।

यससँगै चिलीले दुई खेलबाट शतप्रतिशत ६ अंक जोड्दै शीर्ष स्थानमा रहेर अन्तिम खेलअघि नै अर्को चरण प्रवेश गरेको छ । अब उसले अन्तिम खेल हारे पनि केही फरक पर्नेछैन ।

अहिले उरुग्वे २ खेलपछि ४ अंकसहित दोस्रो स्थानमा हुँदा जापान १ अंकसहित तेस्रोमा छ । २ वटै खेल हारेको इक्वेडर अंकविहीन हुँदै पुछारमा छ ।

प्रकाशित मिति ७ असार २०७६, शनिबार ०१:०५
Loading...