बालोन डि‘ओरबारे एमबाप्पेको यस्तो दाबी

एजेन्सी, असार ६
फ्रेन्च क्लब पिएसजीका युवा स्टार फरवार्ड केलियन एमबाप्पेले प्रतिष्ठित बालोन डि‘ओर अवार्ड जित्न युरोपियन च्याम्पियन्स लिग जित्नु पहिलो सर्तजस्तै रहेको बताएका छन् । सन् २०१८ मा फ्रान्सलाई विश्व च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान दिएका उनले एक अन्तर्वार्तामा बोल्दै यस्तो भनाइ राखेका हुन् ।

एमबाप्पेले विगतमा एकाध वर्षलाई छाड्ने हो भने बालोन डि‘ओरका लागि च्याम्पियन्स लिग जित्ने पहिलो आधार रहेको बताए । ‘तपाईं च्याम्पियन्स लिगबिना बालोन डि‘ओर जित्न सक्नुहुन्न । अहिले विश्वको नजरमा यो ज्यादै महत्त्वपूर्ण प्रतियोगिता हो,’ एमबाप्पले भने ।

एमबाप्पेले यदि कसैले आफूले बालोन डि‘ओर जित्न सक्छु भन्ने ठान्छन् भने त्यसका लागि आफूले पहिला च्याम्पियन्स लिग जित्नुपर्ने बताए । ‘यदि म बालोन डि‘ओर जित्न सक्छु भने सबैभन्दा पहिला म च्याम्पियन्स लिग जित्न चाहन्छु,’ उनले भने, ‘म करिअरमा बालोन डि‘ओरभन्दा च्याम्पियन्स लिग जित्न चाहन्छु ।’

२०१९ को बालोन डि‘ओरबारे पनि एमबाप्पेले धारणा राखे । उनले बार्सिलोनाका लिओनल मेस्सी बलिया दाबेदार भए पनि च्याम्पियन्स लिगको असफलताले उनलाई घाटा पुग्ने बताए । ‘मेस्सी च्याम्पियन्स लिगमा असफल हुनु उनलाई बालोन डि‘ओरका लागि ठूलो घाटा हो,’ एमबाप्पेले भने, ‘कोपा अमेरिकामा अर्जेन्टिनाको प्रदर्शनबाट यसको छिनोफानो हुनेछ ।’

प्रकाशित मिति ६ असार २०७६, शुक्रबार १४:००
Loading...