सरुवा बजारका ‘हट केक’ १९ वर्षीय यी खेलाडी, मूल्य कति ?

एजेन्सी, असार ६
हालसालै पोर्चुगलको राष्ट्रिय टिममा डेब्यु गरेका १९ वर्षीय स्टार फरवार्ड जोआओ फेलिक्स यतिबेला सरुवा बजारमा ‘हट केक’ का रूपमा रहेका छन् । पोर्चुगिज क्लब बेनफिकासँग सम्झौतामा रहेका उनलाई भित्र्याउन यतिबेला युरोपका ठूला क्लबको दौडधुप छ ।

विशेष गरी उनलाई भित्र्याउन स्पेनिस क्लब एथलेटिको मड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी दौडमा थिए । तर, अब सो दौडमा स्पेनकै अर्को क्लब रियल मड्रिड पनि लागेको छ ।

रियल फेलिक्सका लागि यति मोहित देखिएको छ कि, उसले खेलाडीको रिलिज क्लजभन्दा बढी रकम खर्चिन तयार छ । ‘मार्सा’का अनुसार रियलले यी स्टार युवा फरवार्डका लागि १३० मिलियन युरो अफर गरेको छ ।

यसअघि फेलिक्ससँग एथ्लेटिको मड्रिडले सम्झौता नै गरिसकेको रिपोर्ट आए पनि पछि बेनफिकाले अफिसियल रूपमै सो कुराको खण्डन गरेको थियो । त्यसपछि फेलिक्स भित्र्याउने दौडमा रियल लागेको हो ।

बेनफिकाले आफ्ना युवा खेलाडीका लागि १२० मिलियन युरो रिलिज क्लज राखेको छ । तर, रियल भने उनको रिलिज क्लज मात्रै नभएर त्योभन्दा बढी रकम खर्चिन तयार देखिएको हो ।

यता, यी द्रुत गतिका उत्कृष्ट शैलीका खेलाडी बार्सिलोनाको समेत सूचीमा रहेको बताइन्छ । बार्सिलोनाका कप्तान लिओनल मेस्सीले क्लबको भविष्यका लागि फेलिक्स बलियो आधार हुने भन्दै उनले ‘फेलिक्स अनुबन्धबारे विचार गर्न’ क्लब व्यवस्थापकलाई सुझाव दिएको खबर ‘मुन्डो डिपोर्टिभो’ले केही समयअघि छापेको थियो ।

प्रकाशित मिति ६ असार २०७६, शुक्रबार ११:५७
Loading...